detail-img

राजनीतिक परिवर्तन र चुनौतीका बारेमा युवाबीच पर्याप्त छलफल जरूरीः महासचिव पोखरेल 

३२ साउन(२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा आएको बदलाव र चुनौतीका बारेमा युवाहरूको बीचमा पर्याप्त छलफल हुन नसकेको बताउनुभएको छ । 
नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित विस्तारित भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसको परिणाम सामाजिक सञ्जालमा दूषित विचार आउने गरेको बताउनुभयो । 
नेपाल बङ्गलादेश बन्छ भन्नेहरूलाई बङ्गलादेश जुन बाटोमा गइरहेको छ, त्यो सही बाटो हो वा होइन भन्ने कुरा सोच्न उहाँले आग्रह गर्नुभयो । ‘सूचना र प्रविधिका माध्यमबाट जुन प्रकारका विचार सम्प्रेषण भएका छन् त्यसले समाजलाई सही बाटोमा अगाडि बढाउँदैन’, उहाँले भन्नुभयो । 
सूचना र प्रविधिलाई सही ढङ्गले प्रयोग गर्दा आममानिसमा सकारात्मक प्रभाव पार्न सकिने बताउँदै यसको सही प्रयोग नहुँदा नकारात्मक विचार समाजमा प्रवाह हुँदै जाने महासचिव पोखरेलको धारणा छ । 
यतिबेला मुलुकलाई कुन दिशामा लैजाने भन्ने गम्भीर बहस चलिरहेको उहाँले बताउनुभयो । राजनीतिक परिवर्तनको लागि सङ्घर्ष गरेर आएका पुराना राजनीतिक दलको समय सकियो भन्ने खालको भाष्य अहिले निर्माण गर्न खोजिएको बताउँदै महासचिव पोखरेलले इतिहास नबोकेका दलले देशको विकास र समृद्धिका लागि काम गर्न नसक्ने विश्व इतिहासले प्रमाणित गरेको स्पष्ट गर्नुभयो । 
नयाँ भनिएका पार्टीहरूले अस्थिरता मात्र मच्चाउने र देशले सही गति नलिने उहाँले प्रष्ट पार्नुभयो । अस्थिरताको बीचमा देश विकासले गति लिन नसक्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो–नेपालको सबैभन्दा ठुलो दुर्भाग्य, राज्यलाई राज्यका रूपमा बुझ्ने अवस्था छैन । 
राज्य बलियो नहुँदासम्म राज्यमाथि नै आक्रमणका घटना हुने उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– हाम्रो राज्यमाथि विश्वास र भरोसा नभएको समयमा हामी छौं, किनकि राज्य कमजोर छ । 
दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व हुँदा मात्र देश समृद्धिको बाटोमा अघि बढ्ने उहाँले बताउनुभयो । यी तीनवटा कुरालाई जोड्न नसक्दा नेपालले विकासको गति नलिएको उहाँको धारणा छ । 
उहाँले अहिले एमालेभित्र पनि राजनीतिक अवसरवाद र साङ्गठनिक अराजकता बढेको बताउँदै त्यसलाई समाप्त पार्नुपर्ने बताउनुभयो । साङ्गठनिक र वैचारिक काम नहुँदा अवसरवादको विकास हुने उहाँको धारणा छ । 
समाजलाई बदल्न बलियो सङ्गठन चाहिने र त्यसका लागि विधि, पद्धति र अनुशासन आवश्यक पर्ने महासचिव पोखरेलले बताउनुभयो । 
समाजवाद निर्माणको काम सङ्गठित शक्तिले मात्र गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– क्षमता नभएका मानिसहरूले समाजवाद निर्माण गर्न सक्दैनन्, योग्यता नभएका मानिसहरूले समाजवाद निर्माणमा काम गर्न सक्दैनन् । 
परम्परागत उत्पादन पद्धतिमा जोडिन नचाहने र नयाँ उत्पादन पद्धति स्थापित गर्न नसकिएको कारण युवाहरू बिदेसिने गरेको उहाँले बताउनुभयो । 
आजको युवा पुस्तामा व्यवसाय गर्न नचाहने र जागिर नै खोज्ने प्रवृत्ति बढेकाले पनि बिदेसिन गरेका उहाँको भनाइ छ ।