detail-img

नकारात्मक भाष्य चिर्ने काम शिक्षकहरूबाट सम्भवः महासचिव पोखरेल

२ भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने बताउनुभएको छ । 
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औं राष्ट्रिय परिषद् बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुुरा बताउनुभएको हो । 
अहिले सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधान गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र त्यो काम नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले मात्र गर्न सक्ने उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकहरूले भूमिका खेलेका थिए, आज समाजमा बन्न लागिरहेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव हुने बताउनुभयो । 
यसले शिक्षक आन्दोलनको गौरवलाई पुनः समाजमा स्थापित गर्ने उहाँले भनाइ छ ।  
समाजको सचेत वर्ग सार्वजनिक शिक्षाबाट बाहिरिएको कारण नेपालको सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्कँदै गएको महासचिव पोखरेलले बताउनुभयो । 
घरमा पढ्ने वातावरण नभएका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा भएकाले उनीहरूको पढाइको स्तर सुधार गर्न निक्कै कठिन भएको उहाँको धारणा छ । यसको सुधारका लागि बहस आवश्यक रहेको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले देशमा राजनीतिक स्थायित्व र स्थिरता दिन एमाले र कांग्रेसको संयुक्त सरकार बनेको बताउनुभयो । 
राजनीतिक परिवर्तनको समयमा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने तर देश बनाउने कुरामा भने धेरै भन्दा बलिया राजनीतिक दल आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । 
विश्वमा कतै पनि संयुक्त मोर्चा बनाएर देश विकासको काम नभएको उल्लेख गर्दै संयुक्त मोर्चा बनाएर विकासे काम गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।
देश विकासका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने महासचिव पोखरेलले बताउनुभयो ।  
नेपालमा बलियो राजनीतिक शक्ति नबन्दासम्म विकास हुन नसक्ने बताउँदै उहाँले कमजोरहरूले शासन गरेर देश बन्नेवाला छैन भन्नुभयो ।  
देश र समुदायको हितका लागि बलिया सङ्गठन आवश्यक पर्ने हुँदा यही सोचका साथ नयाँ ढङ्गले अघि बढ्नुपर्ने महासचिव पोखरेलको भनाइ छ । 
यही कुरालाई ध्यानमा राखेर देशका बलिया राजनीतिक दल एक ठाउँमा मिलेर सरकार बनाएका उहाँले स्पष्ट पार्नुभयो । देश विशिष्ट अवस्थामा रहेको हुँदा लोकतन्त्र र स्थायित्वका आधार निर्माणका लागि एमाले–कांग्रेस एक ठाउँमा उभिएका र त्यो आधार निर्माण हुने बित्तिकै दुईवटा राजनीतिक दल स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा उत्रिने महासचिव पोखरेलको भनाइ छ । 
राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक र मौलिक संस्कृतिमाथि तीब्र आक्रमण, कमजोर आर्थिक अवस्थाको कारण देश निक्कै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै देशलाई त्यसबाट मुक्त गराउनु अहिलेको मुख्य कार्यभार भएको  उहाँले बताउनुभयो ।