detail-img

राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्ने काममा लाग्न  खेलाडिहरूलाई प्रधानमन्त्रीको आग्रह

२ साउन (२०८१), काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्नुपर्ने बताउनुभएको छ । 
आज नेकपा (एमाले)को जनसङ्गठन नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकमा निर्देशनात्मक सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीले राष्ट्रिय एकता बलियो बनाउने काममा लाग्न खेलाडीहरूलाई आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिहरूले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको हो । 
प्रधानमन्त्रीले भन्नुभयो– यति सानो देशमा हामी धेरै जाति र भाषी मिलेर बसेका छौं । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो । हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ ? भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन । यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ । 
उहाँले जनताको शासनका रूपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने स्पष्ट गर्नुभयो । 
अहिले समाजमा भ्रष्टहरूले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मल्याउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भनेर वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईंहरूले यसतर्फ पनि सचेत भएर लाग्नुपर्छ । समाजमा योगदान नगरेकाहरूलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरूलाई गाली गर्ने काम भइरहेको छ । म तपाईंहरूलाई भन्न चाहन्छु, अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि  र सुशासन कायमका लागि बनेको हो । यसमा हामी शून्य सहनशीलता अपनाउँछौं । अनुहार र मुख हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन । सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौं ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसका सबै विधालाई जीवनशैलीका रूपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न महासंघलाई आग्रह गर्नुभयो । उहाँले बालबालिकादेखि बुढाबुढीसम्मलाई आफ्नो क्षमता र रुचि अनुसार खेल एक जीवनको अङ्ग भएकाले खेललाई व्यापकीकरण र सामाजिकीकरण गर्न आग्रह गर्नुभयो । 
खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने बताउँदै उहाँले  सबै पेशा, व्यवसायका मानिसका लागि खाना, काम र व्यायामको प्रबन्ध नभए जीवन कुँजो हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ? हामीले रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौं । हामी ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौैं, अब जित्नुपर्छ । उत्कृष्ट र प्रतिस्पर्धीरूपमा खेलेमा हामीलाई जीतका लागि केहीले पनि रोक्दैन । सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्र्ने छ । कीर्तिपुरको रङ्गशालालाई स्तरोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण हो ।
 प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले महासङ्घमा आबद्ध युवाहरूको उत्तरदायित्व खेलमा श्रेष्ठताका साथै समृद्ध, सुरक्षित, सम्मानित र न्यायोचित समाज निर्माणका लागि सचेत प्रयास गर्नु पनि हो भन्नुभयो । देशको स्वाधीनता, लोकतन्त्र, विधि, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय झण्डालाई माथि उठाउनका लागि पनि महासङ्घको उत्तिकै भूमिका हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।