२ भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय हित र सुरक्षालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले त्यसका लागि उपयुक्त नीतिसंगै देशको आर्थिक, सामाजिक आधार बलियो बनाउनुपर्ने चर्चा गर्नुभयो ।
नेकपा (एमाले) राष्ट्रिय हित तथा सुरक्षा विभागमा मनोनीत सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो ।
राष्ट्रिय हित र सुरक्षामा देखिएका कमी कमजोरीहरू सुधार गर्दै पार्टीलाई नीतिगत सुझाव दिनु विभागको जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले समस्या र चुनौती पहिचान गरेर राष्ट्रिय सुरक्षाबारे दृष्टिकोण बनाउन जरूरी रहेको बताउनुभयो ।
राष्ट्रिय हितमा आधारित छिमेकी सम्बन्ध नीति र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध उपयुक्त रहेको चर्चा गर्दै उहाँले मौलिक संस्कृतिले राष्ट्रलाई जोड्ने बताउनुभयो ।
महासचिव पोखरेलले मौलिक संस्कृतिलाई कमजोर पार्न भईरहेका षड्यन्त्रहरू परास्त गर्नुपर्ने आवश्यकता औल्याउँदै देशको सांस्कृतिक धरातल बलियो बनाउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
पार्टीका विभागहरू नीति बनाउने कामका लागि भएको चर्चा गर्दै महासचिव पोखरेलले आर्थिक, सामाजिक आधारहरू बलियो बनाउँदै राष्ट्रिय हित र सुरक्षा सामथ्र्य बलियो बनाउन सबै सक्रिय रहनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विभागका प्रमुख चुडादेव सिंह लामा, सचिव पूर्ण प्रसाद पाण्डे लगायतले बोल्नु भएको थियो । सो अवसरमा महासचिव पोखरेलले विभागमा मनोनित नौ जना सदस्यलाई सपथ ग्रहण गराउनु भएको थियो ।