detail-img

बार्षिक कार्ययोजना पारित गर्दै उपत्यका विशेष प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न 

६ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक बार्षिक कार्ययोजना पारित गर्दै बुधबार सम्पन्न भएको छ । 
नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा उपत्यका प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको उपस्थितिमा प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा पार्टी कार्यालय, बागबजारमा सम्पन्न बैठकले  विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । 
बैठकले अधिवेशन हुन बाँकी रहेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीलाई सङ्गठन कमिटीमा रूपान्तरण गरेको छ । बैठकले रामजी सापकोटा संयोजक रहेको ३९ सदस्यीय युवा विद्यार्थी विशेष जिल्ला संगठन कमिटी गठन गरेको छ । 
अधिवेशन हुन बाँकी रहेका २१ इलाका कमिटी तथा १४५ शाखा कमिटीहरूको अधिवेशन २०८१ मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना पनि बैठकले पारित गरेको छ । 
यसैगरी आगामी एक वर्षमा नयाँ पार्टी सदस्य छ हजार थप गर्ने र नवीकरणका लागि सम्पर्कमा आउन नसकेका चार हजार पार्टी सदस्यहरूको खोजी गरी नवीकरण गर्ने कार्ययोजना पनि बैठकले पारित गरेको छ ।
बैठकले प्रदेश कमिटीका विभागहरूमा सदस्यहरूको मनोनयनका साथै ३३ सदस्यीय प्रदेश सल्लाहकार परिषद् गठन गरेको छ । विशेष क्षेत्रमा नेकपा (एमाले)को प्रभाव बलियो बनाउन आवश्यक प्रशिक्षण, भेला, विषयगत अन्तरक्रिया र सम्वादहरू आयोजना गर्ने वार्षिक कार्यक्रम र बार्षिक अनुमानित बजेट पनि बैठकले पारित गरेको छ । 
बैठकमा पार्टीको हालै भएको केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनबाट उपत्यका विशेष प्रदेशको इन्चार्जका साथै पार्टी केन्द्रीय संगठन विभागको सदस्यको जिम्मेवारी पाउनुभएका पोलिटव्युरो सदस्य शाक्य, पेसागत विशेष जिल्ला कमिटीको पुनः इञ्चार्ज हुनुभएका केन्द्रीय सदस्य बिना श्रेष्ठ, उद्योग व्यवसाय विशेष जिल्ला कमिटी इन्चार्ज बालिका गिरी तथा मजदुर विशेष जिल्ला कमिटीका इन्चार्ज सीता लामा र युवा विद्यार्थी जिल्ला कमिटी इन्चार्जको जिम्मेवारीमा आउनुभएका रमेश पौडेललाई स्वागत गरिएको थियो । 
त्यस्तै, मजदुर विशेष जिल्ला कमिटीको इञ्चार्जबाट बिदा हुनुभई भक्तपुर जिल्लामा भुगोलको जिम्मेवारी पाउनुभएका केन्द्रीय कमिटी सदस्य गोविन्द दुलाललाई मायाको चिनो प्रदान गरी विदाइ गरियो । 
बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत हुनुभएका प्रदेश कमिटी सदस्य कविन्द्र शेखर रिमाललाई बधाई दिनुका साथै सम्मान गरियो । 
बैठकमा इन्चार्ज शाक्यले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । त्यस्तै अध्यक्ष पराजुलीले राजनीतिक प्रतिवेदन, सचिव मिलन धरेलले बार्षिक कार्ययोजना र उपसचिव उर्मिला सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकले यस अघि प्रदेश कमिटीका सदस्यहरूको कार्यविभाजन भए अनुरुप कार्यसम्पादनको मोटो समीक्षा गर्नुका साथै आगामी दिनमा कार्यसम्पादनको वस्तुनिष्ट मूल्याङ्कन गरी जिम्मेवारी दिने विषयलाई महत्वका साथ पारित गरेको छ ।