७ भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले) प्रतिष्ठान समन्वय संयन्त्रको पहिलो बैठक महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा संयन्त्रका संयोजक पार्टीका पोलिटव्युरो सदस्य सीता गिरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आज सम्पन्न बैठकमा महासचिव पोखरेलले संयन्त्रका सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै संयन्त्रको कामका बारेमा मार्गनिर्देश गर्नुभएको थियो ।
महासचिव पोखरेलले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका पार्टीका नेताहरूको सम्मान र उहाँहरूको योगदानलाई चीरस्थायी बनाउन स्थापना गरिएका प्रतिष्ठानहरू उद्देश्य आधारित भएर पारदर्शी ढङ्गले सञ्चालन हुनुपर्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभयो ।
उहाँले त्यस्ता प्रतिष्ठानहरूप्रति जनस्तरबाट सकारात्मक दृष्टिकोणका साथ हेर्ने खालका काम प्रतिष्ठानहरूबाट हुनुपर्ने हुँदा त्यस कार्यमा सहजीकरण गर्ने उद्देश्यका साथ संयन्त्र बनाइएको पनि स्पष्ट गर्नुभयो ।
महासचिव पोखरेलले देशभर त्यस्ता कति संस्था खडा भएका छन्, जे उद्देश्यका साथ स्थापना भएका हुन् सोअनुसार सञ्चालन भइरहेका छन्÷छैनन् अभिलेखीकरण गर्न सुझाउँदै संयन्त्रबाट प्रभावकारी कामको अपेक्षा व्यक्त गर्नुभयो ।
बैठकमा संयन्त्रका सचिव रश्मि आचार्य, सदस्यहरू दीपेन्द्र श्रेष्ठ, गोकुल घोरसाइने, हिमबहादुर क्षेत्री, मधु तिमल्सिना, सुजाता गौतम, युवराज घिमिरे, हर्कराज राई र तारा सञ्जेलले शपथ ग्रहण गर्नुभएको थियो ।
बैठकले संयन्त्रका सदस्यहरूलाई प्रदेश संयोजनको जिम्मेवारी दिएको संयन्त्रका सचिव आचार्यले बताउनुभयो । गत साउन १७ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको ३४औं बैठकले प्रतिष्ठान समन्वय संयन्त्र गठन गरेको थियो ।