detail-img

प्रधानमन्त्रीसमक्ष प्रवासी नेपाली संघद्वारा ज्ञापनपत्र प्रस्तुत

९ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रवासी नेपाली संघ, भारतका केन्द्रीय अध्यक्षसहितका पदाधिकारीहरूले भेट गरी भारत प्रवासमा रहेका नेपालीका समस्याहरूको ध्यानाकर्षण गराएका छन् । 
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज हरिप्रसाद घिमिरे, संघका केन्द्रीय अध्यक्ष नारायण हुमागाईं, उपाध्यक्ष सीता अधिकारी, संस्थापक अध्यक्ष लक्ष्मण रायमाझी, पूर्वअध्यक्षद्वय रामलाल काफ्ले, लोकनाथ भण्डारी, पूर्वमहासचिवद्वय गुरुप्रसाद शर्मा र टीका पौडेलले शनिबार प्रधानमन्त्री ओलीलाई भेट गरी प्रवासमा नेपालीहरूका समस्या, आवतजावतका क्रममा सीमा क्षेत्रमा हुने समस्या लगायतका विषय उल्लेख गरिएको ज्ञापनपत्र बुझाउनुभयो । 
ज्ञापनपत्रमा प्रवासी नेपालीको हकहित र सुरक्षाका लागि ‘प्रवासी नेपाली आयोग’ गठनको माग गरिएको छ ।  भारतको निजी क्षेत्रमा काम गर्ने नेपालीले प्रोभिडेण्ड फण्डमार्फत् प्राप्त गर्ने पेन्सन रकम सहज रूपमा दिलाउन नेपालमै पेन्सन उपलब्ध गराउने व्यवस्थाका लागि भारत सरकारसँग पहलको आग्रह गरिएको छ । 
त्यसैगरी सीमा क्षेत्रमा सुरक्षा दस्ता राख्न र दुबै देशबाट हुने÷गरिने आवागमनको अभिलेख राख्न सुझाइएको छ । भारतमा जन्मेहुर्केर अध्ययन गरेका प्रवासीका सन्तानलाई नेपालमा आरक्षणको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ । यसबाट नेपाली युवालाई स्वदेश फर्काई उनीहरूको ज्ञान, सीप र क्षमता देश निर्माणमा लगाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 
यस्तै भारतमा रहेका नेपालीलाई पनि गैरआवासीय नेपालीलाई दिइनेजस्तै दोहोरो नागरिकता भारतस्थित नेपाली दूतावासबाटै प्राप्त हुने व्यवस्था गर्न माग गरिएको छ । 
ज्ञापनपत्रमा भारत प्रवासमा रहेका नेपालीहरू पनि देशको विकास र समृद्धि अभियानमा आर्थिक सहयोग पुर्याउन चाहेको र त्यसका लागि लगानीको उचित वातावरण बनाउन समेत ज्ञापनपत्रमार्फत नेपाल सरकारलाई आग्रह गरिएको छ ।