- Type and enter To search
१० भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरूपमा सम्वाद गरेर समाधान गर्न सकिने बताउनुभएको छ ।
पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताउनुुभयोे ।
प्रधानमन्त्रीले भन्नुभयो– नेपालले सन्तुलत, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं । कसैको कुभलो चिताउँदैनौं । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं ।
हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौं । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छौं । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा सम्वेदनशील छौं । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानमा धक्का लगाउने काम गर्नु हुँदैन ।
देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै उहाँले राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० को सन्धिलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवादलगायत विषयमा थप सम्वाद गर्न सहज हुने स्पष्ट गर्नुभयो ।
उहाँले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धि हुनु युगान्तकारी काम भएकोे पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररूपमा कुरा राख्न सक्ने नेताका रूपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताउनुभयो ।