detail-img

माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता एमालेमा 

१२ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय निर्माण व्यवसाय सङ्गठनका केन्द्रीय सल्लाहकार अशोक कुमार केसीलाई एमालेमा स्वागत गर्नुभएको छ । 
आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा केसी माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । केसी निर्माण व्यवसायीको साझा संस्था नेपाल निर्माण व्यवसायी महास महासंघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । 
सो अवसरमा महासचिव पोखरेलले केसीले ठीक समयमा सही पार्टी छनोट गर्नुभएको बताउनुभयो । 
उहाँले अस्थिरताले राज्य कमजोर हुने र त्यसबाट विकास निर्माण प्रभावित हुने चर्चा गर्दै निर्माण व्यवसाय क्षेत्रको उन्नतिका लागि पनि बलिया दल र बलियो राज्य आवश्यक भएको बताउनुभयो । 
यसैगरी, आजै नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायतका नेता–कार्यकर्ता नेकपा (एमाले)मै फर्कनुभएको छ । 
हिजो सो पार्टी परित्याग गर्नुभएका नेताहरू आज पुरानै पार्टी एमालेमा फर्कनुभएको हो ।  
उहाँहरूलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो । 
सो पार्टीका एक सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा फर्कनुभएको नेकपा (एमाले) स्थायी कमिटी सदस्य भट्टराईले जानकारी दिनुभयो । 
एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकाले आफूहरू पुरानै पार्टीमा फर्किएको उहाँहरूले बताउनुभयो ।