१६ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित हुनुभएका सल्लाहकार परिषद् सदस्यहरूले शपथ ग्रहण गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले विहीबार १२ जना नयाँ सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो ।
सपथ ग्रहण गर्नुहुनेहरूमा अर्जुनबहादुर थापा, अकवाल अहमद साह, कविन्द्रशेखर रिमाल, खगेन्द्र नेपाल, कृष्णप्रसाद दाहाल, डवल पाण्डे, मुनि श्रीवास्तव, सुवास ठकुरी, देवप्रसाद त्रिपाठी, शारदादेवी भट्ट, रामहरि सुवेदी र सरस्वती बाटी हुनुहुन्छ ।
उहाँहरूलाई नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४औं बैठकले सल्लाहकार परिषद् सदस्यमा मनोनित गरेको हो ।
शपथ ग्रहण कार्यक्रममा नयाँ सदस्यहरूलाई बधाई दिँदै सल्लाहकार परिषद्का अध्यक्ष बोहोराले सल्लाहकार परिषद् पार्टी निर्माणमा लामो अनुभव प्राप्त पाका सदस्यहरू रहेको निकाय भएको स्मरण गराउँदै पार्टीको नीति तथा सिद्धान्तमा अडिग रहेर पार्टीलाई सघाउन आग्रह गर्नुभयो ।
अध्यक्ष बोहोराले मार्क्सवाद सिङ्गो मानव जातिको हितमा समर्पित बर्गीय दर्शन भएको र यसले मानिसलाई न्यायपूर्ण असल जीवन बाँच्न सिकाउने बताउँदै विगत केही समययता उक्त आदर्शप्रति विविध कोणबाट प्रहार भइरहेको हुँदा त्यसविरूद्ध डटेर लड्नुपर्ने अवस्था रहेकोमा जोड दिनुभयो ।
शपथ ग्रहणमा सहभागी सदस्यहरूले देश, जनता, कम्युनिष्ट आन्दोलन र नेकपा (एमाले)ले व्यहोर्नु परेको अफ्ठ्यारो स्थितिप्रति चासो व्यक्त गर्नुका साथै पार्टीले लिनुपर्ने सजगताका सम्बन्धमा आ–आफ्ना दृष्टिकोण राख्नुभएको थियो । कार्यक्रम सल्लाहकार परिषद्का सचिव प्रा.डा. प्रेमबहादुर कुवँरले गर्नुभएको थियो ।