detail-img

सही विचार सम्प्रेषण गर्नसक्दा पर्वहरूबाट समाज रूपान्तरणमा सहयोग पुग्नेः महासचिव पोखरेल

१६ भदौ(२०८१),काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले धर्म र संस्कृतिमा पनि व्यापारीकरण भइरहेको बताउनुभएको छ । 
महासचिव पोखरेलले नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विभिन्न नामका गुरुजीहरूले धर्म र मौलिक संस्कृतिको मर्म माथि नै प्रहार गर्ने गरेका बताउनुभयो । 
नेपाली संस्कृतिको जग भनेको नेपाली समाजको विविधता बीचको एकता भएको र अहिले यही परम्परामाथि हमला भइरहेको उहाँको भनाइ छ । 
जातीय अतिवाद, धार्मिक अतिवाद र धर्मान्तरले नेपालको मौलिक परम्परालाई ध्वस्त पार्न लागेको उल्लेख गर्दै महासचिव पोखरेलले नेपालको मौलिक संस्कृतिको महत्वलाई हामीले बुझ्नुपर्ने बताउनुभयो ।
नेपालको मौलिक संस्कृतिको जगले नै नेपाल कहिल्यै कसैको उपनिवेश बन्नु नपरेको उहाँले बताउनुभयो । 
नेपाली संस्कृति वीरताका लागि अनुकूल बनेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– शक्ति उपासनाको परम्पराबाट हुर्किएको नेपाली आज बहादुरमा परिणत भएको छ । 
युवामा पलायनता, निराशा र कुण्ठा बढ्नुको कारण निर्वाहमुखी उत्पादनको ढाँचा भएको उहाँको धारणा छ । विगतमा परिवार चलाउन त्यो उपयुक्त भए पनि अब निर्वाहमुखी उत्पादन प्रणालीले जीवन नचल्ने भएकाले अवसरको खोजीको लागि युवा पलायन बढेको उहाँले प्रष्ट पार्नुभयो । 
एसिया अस्थिर बनाउन चाहने शक्ति राष्ट्रले नेपालमा अस्थिरता मच्चाउन अनेक प्रयत्न गरेको महासचिव पोखरेलको विश्लेषण छ ।  नेपालमा अस्थिरता मच्चाउन सक्दा एसियाका दुई ठुला मुलुक भारत र चीनमा चलखेल गर्न सकिने भएको कारण यी प्रयत्न भएको उहाँको भनाइ छ ।
नेपालमा अवसर नपाएर मात्र युवा विदेश नगएका उहाँले बताउनुभयो । अरूको देखासिखीमा विदेश जाने प्रचलन बढ्दै गएको महासचिव पोखरेलेको धारणा छ । विदेशबाट नेपाल आउने पैसा भन्दा बढी पैसा नेपालबाट भारतीयले लैजाने गरेको बताउँदै उहाँले नेपालमा कामको प्रशस्त सम्भावना छ भन्ने कुरा यसले पुष्टि गर्दछ भन्नुभयो ।  
नेपालमा चाडबाड भड्किला बन्दै गएको बताउँदै महासचिव पोखरेलले साउनका हरिया पहिरनदेखि शुरू हुने खर्च दशैं, तिहार र छठसम्म पुग्दा क्लाइमेक्समा पुग्ने गरेको सुनाउनुभयो । खर्च गर्ने कुरा आफैमा खराब नभएको बताउँदै उहाँले तर के गर्दा अर्थतन्त्रको आधार विकास हुन्छ र के गर्दा अर्थतन्त्र कमजोर हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने महासचिव पोखरेलको धारणा छ । 
देश भित्रकै उत्पादन प्रयोग गर्ने गरी खर्च गर्ने हो भने यसले देशको अर्थतन्त्रलाई बलियो बनाउने उहाँले प्रष्ट पार्नुभयो । विदेशबाट ल्याएका सामान प्रयोग गर्ने कुरा संस्कृति विपरीतको कार्य हो भन्ने बुझाउन सक्ने हो भने देशको अर्थतन्त्र उकालो लाग्ने महासचिव पोखरेलले बताउनुभयो । 
आफूले गरेको उत्पादन भगवानलाई चढाउने परम्परा विकार गर्ने हो भने देशको पुँजी बाहिर नजाने उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– आफ्नो उत्पादनको समर्पणबाट भगवान खुसी पार्न खोजिएको हो तर ब्राह्मणले लगाउने जनै चाइनाबाट आउन लाग्यो अथवा भारतबाट आएको सामान भगवानलाई चढाउनुको के अर्थ छ ? 
तीज पर्वलाई संस्कृतिको माध्यमबाट जागरणको पर्व बनाउन सकिने उहाँले बताउनुभयो । यो पर्व समाजमा दिदी बहिनीहरू खुलेर प्रकट हुने पर्व पनि भएको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले भन्नुभयो– भेला हुने कुरा नराम्रो होइन, यसले दिदी बहिनीको आत्मबल बढाउँछ, तर हरेक चिजको सीमा हुन्छ भन्ने कुरा बुझिएन भने त्यसले विकृति ल्याउँछ । 
सही विचारलाई सम्प्रेषण गर्न सकियो भने पर्वहरूले समाज रूपान्तरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । अरू सबै पर्व र कर्मको समय घटाउन लाग्दा पनि तीज भने एक महिनाभन्दा बढी मनाउने विषयमा प्रश्न उठ्न लागेको उहाँले बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्यहरू अरुण नेपाल, सुजिता शाक्य लगायत नेताहरूको सहभागिता रहेको थियो ।