१८ भदौ(२०८१), सङ्खुवासभा । नेकपा (एमाले) सङ्खुवा सभा जिला कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
नेकपा (एमाले) जिल्ला अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षता र स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यमा आइतबार बैठक सम्पन्न भएको हो ।
बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै स्थायी कमिटी सदस्य राईले अब पार्टीका कोही कार्यकर्ता जिम्मेवारीबिहीन नरहने बताउनुभयो ।
उहाँले यो बर्ष पार्टी सुदृढीकरणको बर्ष भएको बताउँदै सबै कार्यकर्तालाई विधि, नीति, पद्धति अनुसार अनुशासित ढङ्गले पार्टी काममा सक्रिय हुन आग्रह गर्नुभयो ।
उहाँँले पार्टी सदस्य र कार्यकर्ताहरूले गर्न हुने र नहुने कामबारे जानकारी गराउँदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर लाग्न आह्वान गर्नुभयो ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले अपर अरुणमा जनताको स्वमित्व रहने बताउनुभयो । उहाँले विकासको काममा एमाले जनताको साथमा रहेको भनाइ राख्नुभयो ।
तेस्रो पूर्ण बैठकको अवसरमा नेकपा समाजवादीका जिल्ला सचिवालय सदस्य लक्ष्मी दाहाल अधिकारी र छेरुक मुनाल भोटे र तेजबहादुर पोखरेल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
उहाँहरूलाई स्थायी कमिटी सदस्यद्वय शेरधन राई र राजेन्द्र गौतम, जिल्ला अध्यक्ष खड्गबहादुर राई लगायत नेताहरूले स्वागत गर्नुभयो ।
बैठकमा जनसङ्गठन र विभागको जिम्मेवारी बाँडफाँट र पालिका कमिटीहरूको प्रतिवेदन प्रस्तुत गरिएको जिल्ला कमिटी सदस्य नविन दाहालले जानकारी दिनुभयो । बैठकबाट सूर्यबहादुर दाहालको अध्यक्षतामा सल्लाहकार परिषद् र यदुनाथ नेपालको अध्यक्षतामा ज्येष्ठ कम्युनिष्ठ मञ्च गठन गरिएको छ ।