detail-img

प्रधानमन्त्रीबाट निजामती कर्मचारीलाई शुभकामनाः देशको विकास र जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह

२२ भदौ (२०८१),काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक निजामती कर्मचारीहरूलाई देशको विकास र जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ । 
आज भदौ २२ गते, निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उक्त आग्रह गर्नुभएको हो । 
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरूरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ– निजामती सेवाले कानूनी रूपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक बधाई तथा शुुभकामना दिन चाहन्छु ।
नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीे शुभकामना सन्देशमा भन्नुभएको छ– तानाशाही बिरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नुपरेको पीडा र गर्नुपरेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि भएका आन्दोलन उल्लेखनीय नै छन् । यस घडीमा म ती सङ्घर्षहरूमा शहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरूप्रति सहानुभूति प्रकट गर्दछु । 
प्रधानमन्त्री ओलीले कर्मचारीहरूले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरू सफल भएका र कर्मचारीहरूका मागहरू पनि क्रमशः पूरा हुँदै गएको सन्देशमा उल्लेख गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले भन्नुभएको छ– आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहींबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरूरी छ । यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरूरी छ । यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरूमा उच्च नैतिक आचरण, इमानदारी र पेशागत निष्ठा मार्फत् जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने समेत शुभकामना व्यक्त गर्दछु ।
नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक हुुँदै गएको छ । लोकतन्त्रका लाभहरूको वितरण आम नागरिकसम्म पुर्याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिका मार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने छ । राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरूले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । निजामती कर्मचारीहरूमाथि लाग्ने गरेका तमाम गुुनासाहरूलाई चिर्दै पेशागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरूले आफूलाई समयानुकूल ढङ्गले रूपान्तरण गर्नुपर्ने भएको छ । यो आजको आवश्यकता हो ।
मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोपहरू बाढी, पहिरो, आगलागीजस्ता विपद्जन्य घटनाहरूमा राष्ट्रसेवकहरूले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम पनि प्रशंसनीय छ । जनताले अनुुभूत हुनेगरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ्न पनि म यस अवसरमा सबै राष्ट्रसेवकहरूलाई आग्रह गर्न चाहन्छुु ।
अन्त्यमा, ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको २१औं निजामती सेवा दिवसको अवसरमा समस्त राष्ट्रसेवक कर्मचारीहरुमा पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।