detail-img

कोशी र मधेश प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण 

२३ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) ले मधेश प्रदेशका नेता कार्यकर्तालाई अनुशासन सम्बन्धी प्रशिक्षण दिएको छ ।
मधेश प्रदेशको बर्दिबासमा आयोजित प्रशिक्षणमा आयोगका अध्यक्ष केशव बडालले पार्टी, सङ्गठन, नेतृत्व र अनुशासन विषयमा प्रशिक्षण दिनुभएको थियो । 
त्यसैगरी, अनुशासन आयोगका सचिव प्रा.डा.भरत पहारीले पार्टीका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचारसंहिताका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वाला कुमारी साह, अच्युत मैनाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायतको उपस्थिति रहेको प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । 
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले यस अघि छ वटा प्रदेशमा प्रशिक्षण गरिसकेको छ । शनिबार कोशी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम  विराटनगरमा सम्पन्न भएको थियो । 
केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको व्यवस्थापनमा  एकदिने प्रशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको हो ।  
कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य एवं  जिल्ला इन्चार्जहरू, प्रदेश पदाधिकारी तथा सचिवालय सदस्यहरू र  १४ जिल्लाका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियो । 
अनुशासन आयोगका अध्यक्ष केशव बडालले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन, अनुशासन र पारदर्शिता लगायत बिषयमा र सचिव प्रा. डा. भरतराज पहाडीले अनुशासन र आचारसंहिता सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । 
कार्यक्रममा एमाले कोशी प्रदेश इन्चार्ज  शेरधन राईले  भर्खरै सम्पन्न पोलिट्ब्युरो बैठकको जानकारी लगायत कोशी प्रदेशको पार्टी अभियान बारेमा जानकारी गराउनुभयो । 
कार्यक्रममा  प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले स्वागत गर्नुभयो । अन्त्यमा नालापानी सम्बन्धी जानकारीमूलक फिल्म प्रदर्शन गरिएको प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभयो ।