२४ भदौ (२०८१),धरान । कोशी प्रदेशमा रहेका मतदाता सङ्ख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सङ्कल्प गरेको छ ।
आइतबार धनकुटाको नाम्जेमा भएको नेकपा (एमाले) कोशी प्रदेश जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालामा पार्टीले यस्तो सङ्कल्प गरेको हो ।
कार्यशालामा पार्टी सदस्यता बढाउन जनसङ्गठन जिम्मेबार हुने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।
नेकपा (एमाले)का २३ वटै जनसङ्गठनहरूका प्रदेश अध्यक्षहरू, पार्टी प्रदेश कमिटीले तोकेका जनसङ्गठनका इन्चार्जहरू, जिल्ला जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरू सहभागी कार्यशालमा स्थायी कमिटी सदस्य ढकालले अव सबै जना परिभाषित जिम्मेबारीमा लाग्नुको विकल्प नभएको बताउनुभयो । पार्टीले तोकेको जिम्मेबारी वहनको आधारमा अव नेता कार्यकर्ताहरूको मूल्याङ्कन हुने बताउँदैं काम गर्ने अगाडि बढ्ने र काम नगरी बस्नेहरू छाडिदैं जाने बताउनुभयो ।
कार्यशालामा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीको जिम्मेवारी लिएर काम नगर्न कसैलाई छुट नभएको बताउनुभयो । सबै नेताकार्यकर्ता पार्टीको विधान, कार्ययोजना अनुसार अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो ।
पार्टी काम समुदाय र टोलमा केन्द्रित भएको उल्लेख गदैं २०८४ को आम निर्वाचनको सफलता मुख्य विषय बनाउनुपर्ने नेता राईले बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशले गरेका गतिविधिबारे जानकारी गराउँदैं जिल्ला जिल्लामा नेताकार्यकर्ता परिचालित भई पार्टीको मिसन पुरा गर्न निर्देशन दिनुभयो । प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले सङ्गठन विस्तार र पार्टीको योजनाबारे जानकारी गराउनुभयो ।
कार्यशालाले जनसङ्गठनहरू सुदृढीकरण र विस्तारको योजना, राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व परिचालन योजना र पेशागत समस्याहरूमा पार्टी नेतृत्व परिचालन योजना निर्माण गरेर १४ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।
रणनीतिक योजना यस्तो छ
कार्यशालाले २०८१ मङ्सिर मसान्तभित्र २३ वटै जनसङ्गठनको पालिका स्तरसम्म सङ्गठन निर्माण गर्ने र जनसङ्गठनलाई गाउँगाउँमा पुर्याउने, सबै जनसङ्गठनका घटक सङ्गठनहरूलाई २०८१ मङ्सिरसम्म भेला प्रशिक्षण तथा अधिवेशनहरू सम्पन्न गर्ने, सबै जनसङ्गठनहरूले आगामी २०८१ असोज पहिलो हप्ताभित्र प्रदेश तहका बैठक भेलाहरू सम्पन्न गर्ने, २०८१ पुस र माघ महिनामा टोलसम्म सङ्गठन निर्माण गरिसक्ने योजना निर्माण भएको छ ।
त्यस्तै सङ्गठनलाई आ–आफ्नो वर्ग समुदायको माग र मुद्दामा केन्द्रित गर्नका लागि प्रत्येक जनसङ्गठनले प्रदेश तहमा न्यूनतम एउटा र प्रत्येक पालिका तहसम्म बहस पैरवी कार्यक्रम सम्पन्न गर्ने, २०८१ सालभित्रमा एक जनसङ्गठन एक रचनात्मक कार्यक्रम सम्पन्न गर्नें, २०८१ सालको मङ्सिरसम्म जिल्ला जनसङ्गठन समन्वय संयन्त्रको आयोजनामा पालिका तहमा श्रमदान कार्यक्रम गर्ने लगायतका कार्यक्रम निर्माण गरिएको छ ।
जनसङ्गठन समन्वय संयन्त्र कोशीका प्रमुख बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिव देवान राई र जलवर्षा राजवंशी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यशालामा २३ वटै जनसङ्गठनका प्रमुख तथा इञ्चार्जहरूले सङ्गठनमा भएका गतिविधिको रिपोर्टिङसमेत गर्नुभएको थियो ।