२८ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सङ्गठन विभागको १९औं बैठक बार्षिक कार्ययोजना पारित लगायत महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
यही भदौ २७ गते पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा पार्टीका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको विशेष उपस्थिति रहेको थियो । बैठकमा उहाँहरूले महत्वपूर्ण मार्गनिर्देश गर्नुभएको थियो ।
बैठकलाई सम्बोधनका क्रममा उपाध्यक्ष पौडेलले पार्टी सदस्यहरूको गुणस्तर वृद्धि गर्ने र सबै पार्टी सदस्यहरूलाई पार्टी कमिटीमा सङ्गठित गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
त्यसैगरी, महासचिव कमरेड शंकर पोखरेलले सङ्गठनको आन्तरिक जीवनको विषयमा आवश्यक निर्देशन गर्नुभएको थियो ।
उहाँले युवा र महिला बीचको पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिनुभयो । काम गर्दा समस्या आउने र ती समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्ने हुन्छ भन्दै महासचिव पोखरेलले भन्नुभयो– जे गरिन्छ त्यो भविष्यका लागि आवश्यक छ भन्ने पार्टी सदस्यहरूलाई बोेध गराउन सक्नुपर्दछ ।
विभागमा थपिनुभएका नौ जना नयाँ सदस्यहरूसहित १६ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको उक्त बैठकको अध्यक्षता विभाग प्रमुख काशीनाथ अधिकारीले गर्नुभएकोे थियो भने सञ्चालन सचिव माधव ढुंगेलले गर्नुभएको थियो ।
बैठकको प्रारम्भमा सदस्यहरूबाट लिखित तथा मौखिक रिपोर्टिङ भएको थियो । तत्पश्चात बैठकले यस प्रकार निर्णयहरू गरेको छः १. पार्टी केन्द्रीय सचिवालयले गरेको निर्देशन बमोजिम २०८१ को लागि नवीकरण भएका सबै जिल्लाका पार्टी सदस्यहरूको विवरण अनिवार्यरूपमा यही भदौ मसान्तभित्रै केन्द्रीय सङ्गठन विभागमा पठाई प्रमाणित गराउन प्रदेश कमिटीहरूलाई निर्देशन गर्ने ।
२. विभागका प्रमुखबाट प्रस्तुत भएको सङ्गठन विभागको २०८१÷०८२ को परिमार्जित बार्षिक कार्ययोजना व्यापक छलफल पश्चात सर्वसम्मतिबाट पारित गरियो ।
३. अधिवेशन गर्न बाँकी रहेका जिल्ला, पालिका, वडा र टोल तहसम्मका पार्टी कमिटीका अधिवेशनहरू २०८१ कात्तिकको अन्तसम्ममा सम्पन्न गर्न पुनः स्मरण गराउने ।
४. सम्पूर्ण जनसङ्गठनका कम्तिमा वडा तहसम्म (पिंधसम्मका) कमिटी निर्माण गर्ने र नियमित परिचालन तथा प्रशिक्षण गर्ने बिषय जिल्ला, पालिका र वडा तहका पार्टी कमिटीका बैठकका नियमित एजेण्डा बनाउन निर्देशन गर्ने ।
५.२०८१ मङ्सिरसम्म पार्टी जीवनको शुद्धीकरण तथा सुदृढीकरणलाई ध्यानमा राखी ‘आधारभूत तहको सङ्गठनात्मक कामका समस्या र समाधान’ बिषयक एक कार्यशाला गोष्ठी आयोजना गर्ने । यस सम्बन्धी आवश्यक गृहकार्य विभागको कार्यालयले गर्ने ।
६. केन्द्रीय सङ्गठन विभागका सदस्यहरूको भूमिका र जिम्मेवारीका सम्बन्धमा छलफल हुँदा पार्टी नियमावलीको धारा – १७ को ‘भ’ मा उल्लेखित व्यवस्था अनुसार गर्ने । उपधारा – ७ र ८ मा व्यवस्था भएका कामहरू गर्नका लागि विभाग प्रमुखले आवश्यकतानुसार जिम्मेवारी दिएर सदस्यहरूलाई खटाउन सकिने निर्णय भयो ।