detail-img

भूमि अधिकारका दृष्टिले अबका तीनबर्ष महत्वपूर्णः महासचिव पोखरेल 

३१ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमि अधिकारका दृष्टीले अबका तीनबर्ष महत्वपूर्ण हुने बताउनुभएको छ । 
भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको स्थापना दिवस तथा प्रथम केन्द्रीय परिषद् बैठक उद्घाटनपछि सम्बोधन गर्दै महासचिव पोखरेलले भूमि अधिकारसम्बन्धी समस्या समाधानका लागि सार्थक प्रयत्न अगाडि बढिरहेको बताउनुभयो । 
नेकपा (एमाले) भूमि समस्या समाधान गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट गर्दै महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भूमि आयोग गठन गर्ने आधार तयार भएको बताउनुभयो । 
नेकपा (एमाले)ले सरकारमा रहँदा विगतमा पनि बेला बेलामा भूमि समस्या समाधानका लागि काम गर्न खोज्ने तर कानुनी जटिलता सिर्जना हुने, अदालतले काम रोकिदिने गरेको तीतो अनुभव रहेको सुनाउनुभयो । 
महासचिव पोखरेलले भूमि आयोग गठन गरी भूमि अधिकारसम्बन्धी समस्याको समाधान संविधानमा एकपटकका लागि भनेकाले अब गठन हुने आयोग अन्तिम हुनेहुँदा भूमिहीन, सुकुम्वासीहरू कोही पनि अबको अन्तिम अवसरबाट बन्चित भयौं भन्ने अवस्था आउन नहुने बताउनुभयो । 
महासचिव पोखरेलले भूमिहीनहरूले राज्यबाट एकटुक्रा जमिन पाउँदा उनीहरूको घरसम्म बन्ला तर त्यत्तिले जीवन नचल्ने हुँदा कुनै न कुनै कामद्वारा आपूmलाई स्थापित गर्न सुझाउनुभयो । 
उहाँले आफूलाई, आफ्नो जीवनलाई आर्थिक रूपम बदल्दै सिङ्गो समाज बदल्न यस सङ्गठनले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका पदाधिकारी तथा सदस्यहरूलाई भूमिहीन, सुकुम्वासीका बस्तीमा गई सबैलाई प्रक्रियामा सामेल गराउन अगुवाई गर्न निर्देश गर्दै त्यसो गरियो भने मात्र सार्थक परिणाम प्राप्त हुने बताउनुभयो ।
भूमिहीनलाई भूमि अधिकार स्वरुप जमिन उपलब्ध गराउँदा राज्यले पैसा नलिने स्पष्ट गर्दै उहाँले जमीन पाउने प्रक्रियामा पैसा आवश्यक पर्छ भन्दै विचौलियाले पैसा उठाउनसक्ने हुँदा त्यस्ता ठगहरू विरूद्ध सङ्गठन दह्रो गरी उभिन निर्देशन दिनुभयो ।  
महासचिव पोखरेलले दुई ठुला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको बताउँदै भूमि अधिकारको विषयलाई अगाडि बढाउने र समाधान गर्ने सन्दर्भमा पनि काममा प्रभाव पार्ने गतिविधि हुनसक्ने हुँदा त्यस्ता गतिविधिमा नलाग्न सचेत गराउनुभयो । 
वर्तमान सरकारको प्रभावकारितासँग भूमिहीनहरूको भविष्य जोडिएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– जुन समुदायका लागि राज्यले काम गर्न खोज्दै छ, त्यो सरकारप्रति त्यो समुदाय सकारात्मक बन्नुपर्छ । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, भानुभक्त ढकाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, पोलिटव्यूरो सदस्य सुजिता शाक्य लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य, भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालका इन्चार्ज तथा अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सङ्गठनका अध्यक्ष चौधरीले सङ्गठन सञ्जालको अवस्था, सदस्य सङ्ख्या लगायतका विषयहरूका बारेमा जानकारी गराउँदै यो सङ्गठन साच्चे सर्वहारा श्रमजीवीको भएको र सङ्गठनले भूमिहीन श्रमिकलाई भूमिको मालिक बनाउन नसकिएको बारेमा पार्टीको ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रम सङ्गठनका महासचिव इन्द्र तामाङले सञ्चालन गर्नुभएको थियो ।