गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा
११ कात्तिक (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभएको छ ।
गैह्रआवासीय नेपाली सङ्घ (एआरएन)द्वारा आज आयोजित गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउनुभएको हो ।
‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौं’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्नुभयो ।
सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररूपमा काम गर्न आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो– म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।
प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गर्नुभयो ।