३ मङ्सिर (२०८१) ईन्सी, हुवई, चीन । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबीच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्वन्ध रहेको बताउनुभएको छ ।
उहाँले अब त्यस्तो सम्बन्धलाई दुई देशका जनताको तहमा विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध बृद्धि गर्न प्रस्ताव गर्नुभएको छ ।
नेकपा (एमाले) को उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनुभएका बरिष्ठ उपाध्यक्ष पोखरेलले चीनका विभिन्न स्थानमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा यस्तो प्रस्ताव गर्नुभएको हो । जवाफमा चिनिया नेता तथा जनप्रतिनिधिहरूले त्यसतर्फ अघि बढ्न सकिने बताउनुभएको छ ।
हुवई प्रदेश जनसरकारद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– चीन र नेपालका सरकार तथा चिनिया कम्युनिष्ट पार्टी र नेकपा (एमाले)बीच गहिरो ऐतिहासिक सम्वन्ध छँदैछ । अब जनस्तरमा पनि सम्वन्ध विस्तार गर्न जरुरी छ ।
दुई देशका जनताबीच आत्मीय सम्बन्ध विस्तार गर्न गत हप्ता मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्नुभएको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गर्नुभएको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले महत्वपूर्ण योगदान गरेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले मित्रताको साक्षी इतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको स्मरण गर्नुभयो ।
हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनिया कम्युनिष्ट पार्टी हुवई प्रदेशका सचिव वाङ जोङलिङले चीन र नेपालबीच सम्वन्ध राम्रो र भविष्य उज्ज्वल रहेको चर्चा गर्दै सम्वन्ध र सहयोग आदान प्रदानका अनेक क्षेत्र रहेको बताउनुभयो ।
यसैगरी हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंसनीय रहेको स्मरण गर्दै चीनमा नेपाली बिद्यार्थीले अध्ययन र विज्ञता हासिल गर्ने अनुकूल वातावरण बन्ने अपेक्षा गर्नुभयो ।
विश्वविद्यालयका उपाध्यक्ष ल्यु चिहङले बैज्ञानिक शिक्षा विस्तारमा सहयोग आदान प्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने आशा व्यक्त गर्नुभयो ।
भ्रमणका क्रममा बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले हुवई प्रदेशको ईन्सी नगरपालिका लगायतका स्थानहरूको अवलोकन गरेको थियो । नेपाली टोलीलाई चीनका विभिन्न तहका जनसरकार लगायत विभिन्न निकायहरूले स्वागत गरिरहेका छन् ।
टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछ । बरिष्ठ उपाध्यक्ष पोखरेलले त्यहाँ आयोजित औपचारिक कार्यक्रमहरूलाई सम्वोधन गर्नुहुने छ । बेइजिङमा उच्चस्तरीय भेटवार्ता समेत हुने छ ।