detail-img

आर्थिक सामाजिक परिवर्तनका लागि सबै एकठाउँमा उभिनुपर्ने 

३ मङ्सिर (२०८१), दाङ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देशमा आर्थिक र सामाजिक परिवर्तनको लागि सबै एकठाउँमा उभिनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. २, दाङले सोमबार घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थबाट सबै माथि उठ्नुपर्ने बताउनुभयो । 
मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उहाँले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता यसबाट जोगिनुपर्नेमा उहाँले जोड दिनुभयो । कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमानदार र मेहनती हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भेलालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले देश निर्माणको लागि नेकपा (एमाले)लाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । 
महासचिव पोखरेलले नेकपा (एमाले) देशको सबैभन्दा ठुलो राजनीतिक शक्ति भए पनि राज्य सत्ता सञ्चालनको लागि निर्णायक शक्ति बन्न नसकेको बताउनुभयो । त्यसैले मिसन–८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढाउन चाहने तत्वहरू क्रियाशील रहेको बताउनुभयो । देशमा राजनीतिक अस्थिरता कायम गरेर त्यसमा खेल्न चाहने विभिन्न शक्ति क्रियाशील रहेकाले राजनीतिक स्थायित्व र स्थिरता दिन आवश्यक रहेको बताउनुभयो । त्यसैका लागि २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उहाँको धारणा छ ।
देशमा देखिएको राजनीतिक र सामाजिक अस्थिरता तथा अराजकतालाई रोक्न आर्थिक क्षेत्रको सुधार गरी समृद्धिको यात्रा अघि बढाउन देशका ठुला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) अहिले एकठाउँमा उभिएको उहाँको भनाइ छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विकास र समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको सन्दर्भमा सरकारबाट भएका रचनात्मक क्रियाकलापका विषय जनतामाझ पुर्याउनुपर्ने उहाँको धारणा छ । 
महासचिव पोखरेलले नेताको टाउको जोडेर होइन, जनताको मन जोडेर पार्टी बलियो बनाउनुपर्ने बताउनुभयो । ‘हामी पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौं, नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, उनीहरूका मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ’, उहाँले भन्नुभयो । 
राजनीतिक दल जनताका समस्यासँग एकाकार हुनुपर्ने बताउँदै महासचिव पोखरेलले जनताका हरेक समस्यासँग जोडिन र समाधानको लागि सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । जनतासँग नभिजेको पार्टी कम्युनिष्ट पार्टी नहुने पनि उहाँले प्रष्ट पार्नुभयो ।