३ मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले)ले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज शोक विज्ञप्ति प्रकाशित गरी पार्टीको तर्फबाट स्व. ढुङ्गानाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
शोक विज्ञप्तिमा भनिएको छ– पूर्व सभामुख, बरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाको ८३ बर्षको उमेरमा हिजो २०८१ मङ्सिर २ गते उपचारका क्रममा फ्रन्टलाइन अस्पताल, राजधानीमा निधन भयो । उहाँको निधनप्रति हाम्रो पार्टी नेकपा (एमाले) गहिरो दुःख व्यक्त गर्दै स्व.ढुङ्गानाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्र्नुभएको छ । ‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व. ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहने छ ।