detail-img

प्रधानमन्त्रीबाट पूर्व सभामुख ढुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ

३ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्व सभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गर्नुभएको छ ।
स्व. ढुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थिव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गर्नुभएको हो । 
प्रधानमन्त्री ओलीले ढुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुभाषी, सरल र असल मान्छे हुनाका साथै सबैका कुरा सुन्ने व्यक्तित्व रहेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले ढुङ्गानामा मुलुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाउनुभयो । ढुङ्गानाले देखाउनुभएको बाटोमा अघि बढ्न आफूहरू प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताउनुभयो ।
मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।