detail-img

‘मङ्सिर ७ को जागरण सभाः अराजकताविरूद्ध, लोकतन्त्रको पक्षमा’ 

५ मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले पार्टीले यही मङ्सिर ७ गते काठमाडौँमा जागरणसभा गर्न लागेको बताउनुभएको छ ।
उक्त जागरणसभाका साथै समसामयिक राजनीतिक विषयमा आज आयोजित आमसञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरसम्बादमा उपमहासचिव ज्ञवालीले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने सबैलाई सो कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको बताउनुभयो । 
उहाँले भन्नुभयो– पछिल्लो समय मुलुकमा अराजकता र अस्थिरता चाहनेहरू योजनाबद्ध रूपमा लोकतन्त्र समाप्त पार्ने गतिविधिमा सरिक भएको देखिन्छ, लोेकतन्त्र र विधिको शासनको विकल्प छैन । लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एकठाउँमा उभिन सबैसँग अपिल गर्दछु ।
उपमहासचिव ज्ञवालीले अराजकता मौलायो भने लोकतन्त्र कमजोर हुने बताउनुभयो ।
उहाँले भन्नुभयो– अराजकता र लोकतन्त्र सँगै जान सक्दैनन्, अराजकता मौलायो भने भ्याक्युमभित्र अलोकतान्त्रिक तत्वले खेल्छन् ।
अहिले देश बन्दैन भनेर समाजमा अराजकता फैलाई जनतामा निराशा छर्ने प्रयास भइरहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । अराजकता र अस्थिरता चाहनेहरू एकठाउँमा आउन खोजिरहेकोे उहाँको भनाइ छ ।
२००६ सालदेखि परिवर्तनका मुख्य सम्वाहक नेपाली कांग्रेस र एमाले नै भएका र अहिले पनि अराजकता र अस्थिरता अन्त्यको लागि दुई दल एकठाउँमा उभिएको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । 
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारको सङ्केत देखिएको र सरकारले सुशासनको पक्षमा कदम चालिरहेको उहाँले बताउनुभयो । 
उपमहासचिव ज्ञवालीले सरकारमा हुने दलहरूले देश बन्दै छ, हामी बनाउँछौँ भन्ने सन्देश जनतालाई दिन सक्नुपर्ने र  त्यसका लागि मङ्सिर ७ को जागरण सभा आयोजना गरिएको बताउनुभयो । 
सम्पादकहरूको जिज्ञासामा उपमहासचिव ज्ञवालीले प्रजातन्त्रको पुनःस्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्नुभयो ।  
नेपालको विद्यमान संविधान कार्यान्वयन भएको करिब नौ वर्षको अवधिमा देखिएका कमीकमजोरीलाई सुक्ष्मरूपमा समीक्षा गरी सरोकारवाला सबैको उचित रायसुझावलाई समेत समेटेर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्नुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा जागरणसभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले उपत्यकास्तरीय एमाले सम्बद्ध सङ्घ, सङ्गठनद्वारा आयोजना हुने जागरणसभमा एक लाख मानिसको उपस्थिति हुने अपेक्षा गरिएको बताउनभयो । 
डा. भट्टराईले काठमाडौंको भद्रकालीबाट ¥याली सुरु भई सुन्धारा, बीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने बताउनुभयो । सभालाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
सो अवसरमा पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले लोकतन्त्र,  विकास र सुशासनको पक्षमा जनतालाई सुसूचित गराउने उद्देश्यका साथ आमजनताको सहभागितामा शान्तिपूर्ण ढङ्गबाट जागरणसभा सम्पन्न गरिने बताउनुभयो ।