detail-img

निरासाको खेती गर्नेहरूका कारण समाजमा अराजकताः महासचिव पोखरेल

२२ मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बलियो बनाउनका लागि बलियो शक्तिको आवश्यकता रहेको  बताउनुभएको छ ।
तुल्सीपुर उपमहानगरपालिका वडा नं. १९ को प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले  विगतभन्दा वर्तमानमा धेरै उपलब्धि प्राप्त भएको बताउनुभयो ।
उहाँले जनतामा निरासाको खेती गर्नेहरूका कारण समाजमा अराजकता बढेको बताउनुभयो । महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको बताउनुभयो । 
तुल्सीपुर उपमहानगरपालिक वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा  भएको कार्यक्रममा तुल्सीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताउनुभयो । उहाँले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको बताउनुभयो ।
नगरप्रमुख खड्काले वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्रे गरिने बताउनुभयो ।
तुल्सीपुर उपमहानगरपालिकाको वडा नं. १९ को कार्यालय तोप्पापानीमा २०७४ सालमै शिलान्यास भएपनि निर्माण कार्य अधुरो रहेको थियो । वडाध्यक्ष प्रेमनाथ योगीले घोराही आँखा अस्पताल र बिजौरी–छिल्लीकोट सडकखण्डकै नजिकमा सबै वडावासीको मध्यबिन्दुमा पर्नेगरी वडा कार्यालय भवन निर्माण गरिएको बताउनुभयो ।