detail-img

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्स उद्घाटन 

२३ मङ्सिर (२०८१), झापा  । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताउनुभएको छ ।
भव्य जनसहभागितामा १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताउनुभयो । 
विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।
उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले भर्खर सम्पन्न चीन भ्रमण देशका लागि उपलक्धिपूर्ण भएको बताउँदै केही समयपछि भारत जाने जानकारी गराउनुभयो । 
झापाको दमक नगरपालिका–३, दापगाछीमा निर्माण गरिएको  व्यापारिक कम्प्लेक्स मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्छ । सो कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजारको लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ ।

मानवसेवा आश्रमको भवन उद्घाटन 
यसअघि, आजै प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गर्नुभएको हो । कार्यक्रममा आश्रमका लागि  दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे । 
प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र प्रधम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गर्नुभएको थियो ।