detail-img

अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन प्रधानमन्त्रीको आग्रह 

२४ मङ्सिर (२०८१), झापा । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले)को झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिनुभयो  । 
पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगतरुपमा उच्च नैतिकता कायम गर्न विशेष ध्यान दिन विशेष जोड दिँदै अध्यक्ष ओलीले भन्नुभयो– हामी देशका लागि केही गर्छौं, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौं । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन, ठुला प्रयास गर्नुपर्छ । यो काम एमालेले मात्रै गर्न सक्छ । अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ ।
अध्यक्ष ओलीले कार्यकर्तालाई जनतासँगको सम्बन्ध निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्न सम्झाउँदै भ्रष्टाचार र अराजकता नस्वीकार्ने नमुना पार्टीका रूपमा एमालेलाई विकसित गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर खण्डन गर्न तथा पार्टीभित्रका आपसी मुटाव भएमा सार्वजनिकरूपमा टिप्पणी नगर्न आग्रह गर्नुभयो ।
‘बिआरआइबाट देशलाई लाभ हुन्छ’
प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताउँदै हाललाई देशको आर्थिक अवस्था हेरेर ऋण नलिई सहकार्य र सहयोगलाई बढी जोड दिइएकोे स्पष्ट गर्नुभयो । 
उहाँले भन्नुभयो– अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ । विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । हामीले ऋण लिएर खुरुखुरु घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ । कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ । बिआरआइलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभई व्यापक अर्थमा बुझ्नुपर्छ । हामीले हाम्रो विकासको लागि के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ ।
कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले पनि सम्वोधन गर्नुभएको थियो । 


पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइने 
यसैगरी, झापाको गौरादहमा आयोजित ताजपुरिया समाज कल्याण परिषदको २९औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभयो । 
प्रधानमन्त्री ओलीले साना साना उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, सस्कृति र परम्परालाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्दै सो समाजका मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने बताउनुभयो । 
कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो ।