३० मङ्सिर (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित “स्थानीय तहमा पार्टी कामका समस्या र समाधान” विषयक राष्ट्रिय कार्यशाला पार्टीकामा महत्वपूर्ण छ बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ ।
यही मङ्सिर २९ र ३० गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित दुई दिने कार्यशालामा देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला, जनसंगठन र तोकिएका जनप्रतिनिधिहरूसहित ३०० जनाको सहभागिता रहेको थियो ।
कार्यशालाले निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीन महिने “वडा केन्द्रित अभियान” सञ्चालन गर्ने सङ्कल्प गरेको छ ।
कार्यशालामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्वोधन गर्नुभएको थियो । कार्यशालालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले पनि सम्वोधन गर्नुभएको थियो ।
कार्यशालाको पहिलो दिन पार्टी महासचिवले पार्टी केन्द्रले वनाएको वार्षिक कार्ययोजनाको अभिमुखीकरण गर्नुभएको थियो भने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयको रूपमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यशालामा सहभागीहरूलाई १० वटा समूहमा विभाजन गरी छलफल गरार्ईएको थियो । समूह छलफलमा प्रदेशका ईन्चार्जहरू र संगठन विभागका सदस्यहरूले सहजीकरण गर्नु भएको थियो ।
कार्यशालाको दोस्रो दिन विहानैबाट समूहगत छलफलका रिपोर्टहरूको प्रस्तुती गरिएको थियो । समूहगत प्रस्तुतीका समयमा पार्टीका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव र प्रदेशका इन्चार्जहरूको उपस्थिति रहेको थियो ।
समूहगत प्रस्तुतीलाई संष्लेषण गरी तयार पारिएको निष्कर्ष खण्डबाट सार्वजनिक गर्न आवश्यक ठानिएका विषयहरू विभाग प्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको थियो । विभागको तर्फबाट सचिव माधव ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार राष्ट्रिय कार्यशाला निम्न निष्कर्षका साथ सम्पन्न भएको छ ।
कार्यशालाको घोषणा
१. यो राष्ट्रिय कार्यशाला निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीन महिने “वडा केन्द्रित अभियान” सञ्चालन गर्ने सङ्कल्प गर्दछ ।
२. यो राष्ट्रिय कार्यशाला आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै “जनतासँग जनसंगठन अभियान” सञ्चालन गर्ने सङ्कल्प गर्दछ ।
३. यो कार्यशाला २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फागुन – चैत्र महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गर्दछ ।
४. यो कार्यशाला २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाईनमा ल्याउने सङ्कल्प गर्दछ ।
५. यो कार्यशाला २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्दछ ।
६. यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्र्ने सङ्कल्प गर्दछ ।