१ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र सुशासन दिनका लागि देशका प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकलाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले दुई दलले नचाहँदासम्म अरु कसैले चाहेर यो सरकार नढल्ने हुँदा कर्मचारीहरूले ढुक्क भएर काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको र देशमा सबै सकियो भन्ने खालको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको उहाँले बताउनुभयो । सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै महासचिव पोखरेलले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताउनुभयो ।
अराजकतावादले मुलुकको देशभक्तिपूर्ण भावलाई नै खाइदिने बताउँदै उहाँले भन्नुभयो– यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदैदिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ ।
लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनुपर्ने र त्यसका लागि बलिया राजनीतिक दल आवश्यक रहेको प्रष्ट पार्दै महासचिव पोेखरेलले भन्नुभयो– आज निराशाबाट जनतामा आशा पैदा गराउने, कमजोर राज्यबाट बलियो राज्य बनाउने, कुशासनबाट सुशासनतर्फ जाने कुरामा ध्यान जानुपर्ने छ ।
केही समययता पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम भएको र नेकपा (एमाले)लाई कसरी सकिन्छ कमजोर बनाउनका लागि विभिन्न खालका भ्रामक प्रचार गरिएको महासचिव पोखरेलले बताउनुभयो । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमालेमाथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरिरहेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) ठुलो विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको र अब आफूलाई राष्ट्रिय आवश्यकता पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन लागिपरेको महासचिव पोखरेलले बताउनुभयो ।
संविधान संशोधनको विषय सम्पूर्ण रूपमा खुल्ला गर्न नखोजिएको स्पष्ट गर्दै उहाँले आन्तरिक छलफलबाट संशोधन गर्नुपर्ने विषयमा मात्र छलफल हुने र सोही अनुसार संविधान गरिने बताउनुभयो ।
महासचिव पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ कुनै व्यक्ति वा दल विशेषको योजना नभई राष्ट्रको विषय भएकाले सबैको ध्यान यो राष्ट्रिय आकाङ्क्षा साकार पार्ने दिशामा हुनुपर्ने बताउनुभयो ।