detail-img

जातीय छुवाछूत समाज विकासको ऐजेरुः प्रधानमन्त्री 

३ पुस (२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस–कसका के–के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरूले नयाँ सरकार बनाएको स्पष्ट गर्नुभयो ।
‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं । हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् । राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।
प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैबाट उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताउनुभयो ।
समाजमा रहेको असमानता र छुवाछूत हटाउनुपर्ने हुँदा संविधानमा सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो– मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरूलाई मान्यता दिँदैन ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष मनोहर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य तथा समाजका इन्चार्ज जीतु गौतम, अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।