detail-img

‘पार्टीलाई जरादेखिनै सुदृढ बनाउनु आवश्यक’

४ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्र सङ्गठनात्मक अराजकता मुख्य चुनौती बनेको बताउनुभएको छ । 
नेकपा (एमाले) सिन्धुलीको चौथो पूर्ण बैठकमा प्रमुख अतिथि गौतमले  निर्देशनात्मक मन्तव्य राख्दै सङ्गठनात्मक अराजकता नियन्त्रण नगरेसम्म मिसन–२०८४ सफल हुन नसक्ने बताउनुभएको हो । 
उहाँले देशमा नयाँ खालको आर्थिक सङ्कट आएपछि  नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको प्रष्ट पार्नु भयो । नेता गौतमले मुलुकलाई अस्थिरता र अराजकता फैलाएर  स्वार्थ सिद्ध गर्न खोज्नेहरूलाई परास्त गर्न पनि नेपाली कांग्रेससँग सत्ता सहकार्य जरुरी भएको औल्याउनुभयो ।  मुलुकको अर्थतन्त्र अझै पनि  ट्रयाकमा आइनसकेको र अपेक्षित राजश्व नउठे पनि अर्थतन्त्र सुधारका सङ्केतहरू देखिन थालेको र निजी क्षेत्र उत्साहित बनेको बताउनुभयो । 
स्थायी कमिटी  सदस्य गौतमले एमालेले राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको  मुद्धा उठाएको र देशकोे नक्सा जारी गरेको स्मरण गर्दै उहाँले छिमेकी मुलुक चीनसँग विआरआई सम्झौता गरेर  विकास र साझेदारी अगाडि बढाएको उल्लेख गर्नुभयो ।  
हाम्रो पार्टीलाई राष्ट्रिय शक्ति मात्र भएर होइन, राष्ट्रिय निर्णायक शक्ति  बनाउनुपर्ने बताउँदै उहाँले पार्टी अनुशासन र पद्धतिका विषयमा  कमिटीमा सशक्त ढङ्गले उठाउन र अवसरहरूको न्यायोचित वितरण नहुँदा पार्टीभित्र समस्या सिर्जना भएको प्रष्ट पार्नु भयो ।  
नेता गौतमले पार्टी बलियो भएमात्र त्यसको बलमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा सबै नेताकार्यकर्ताले बुझ्न जरुरी रहेको औल्याउनुभयो ।  उहाँले पार्टीलाई जरादेखिनै  सुदृढ गर्न आवश्यक भएकाले तल्लो तहका आधारभूत वर्गसम्म पार्टी पुग्नुपर्ने प्रष्ट पार्नु भयो । 
बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मनोज जङ्ग थापा, गणेश पहाडी, कमलजङ्ग राई, सुवास देवकोटा, बिषमलाल अधिकारी दनुवार, निरु दर्लामी, उमा कोरालाको अतिथिका रुपमा उपस्थिति रहेको थियो । अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा दुई दिनसम्म चल्ने जिल्ला कमिटी बैठकमा उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कर्ण घिसिङले स्वागत गर्नुभएको थियो ।