५ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका युवामा ‘देश हामी आफै बनाउँछौं’ भन्ने भावनाको विकास हुनुपर्ने बताउनुभएको छ ।
गत २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट उम्मेदवार बन्नुभएका युवा नेता प्रसन्न अर्याल र उहाँको टीमका करिव एकदर्जन युवालाई आज नेकपा (एमाले) मा प्रवेश गराउँदै महासचिव पोखरेलले उक्त धारणा राख्नुभएको हो ।
महासचिव पोखरेलले युरोप, अमेरिका र अरब मुलुकहरूको विकास कसरी भयो भन्ने बारेमा चर्चा गर्दै विदेशको विकाससँग तुलना गरेर होइन, हामीले आफ्नै विकासको मोडलमा देश बनाउनुपर्ने बताउनुभयो ।
युवा पुस्ताले देश बनेन भन्ने गरेका र विदेशको विकाससँग नेपाललाई दाँज्ने गरेको उल्लेख गर्दै विदेशको विकाससँग दाँज्नु उचित नहुने उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– अरब मुलुकका धनाड्यहरूले तेल बेचेर अमेरिका, युरोपका विभिन्न मुलुकका बैंकमा पैसा जम्मा गरेका थिए । पछिल्ला बर्षहरूमा त्यो पैसा आफ्नै मुलुकमा विकासको काममा लगानी गर्ने सोच बनाए । उनीहरूमा त्यो भावनाको विकास भयो र देशको विकास गरे । विकसित पश्चिमा मुलुकहरूले साम्राज्यवाद र उपनिवेशवादको समयमा शोषण गरेर जम्मा गरेको धनले देशको विकास गरे ।
तर, नेपालसँग त्यसरी खर्च गर्ने सञ्चित रकम नभएकाले विकासको मोडल भिन्न हुने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– हाम्रो विकास मानव विकासको बाटोबाट हुन्छ ।
अबको विकासमा जनशक्ति महत्वपूर्ण भएको उल्लेख गर्दै महासचिव पोखरेलले आधुनिक सूक्ष्म प्रविधिलाई प्रयोग गर्ने युवा र नयाँ पुस्ता एसियामा धेरै रहेकाले पनि अबको विकासले एसियालाई अगाडि बढाउने र नेपाल पनि त्यस मोडलमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताउनुभयो ।
कुनै विचार, सोच र लक्ष्य निर्धारण नगरी पुराना दलहरूको विरोध र पपुलिजमका आधारमा राजनीति गर्ने प्रवृत्तिले मुलुकको राजनीतिलाई दिशाहीन, जनतामा निराशा र विदेश पलायनलाई बढाएको बताउँदै त्यो प्रवृत्ति अब भने क्रमशः ओरालो लाग्दै गरेको महासचिव पोखरेलले बताउनुभयो ।
नेकपा (एमाले)मा प्रवेश गर्नुभएका युवा राजनीतिकर्मी अर्यालले देशको विकास हुन्छ भने नेकपा (एमाले)बाट हुन्छ भन्ने निष्कर्षका साथ आज एमालेमा प्रवेश गरेको र जीवन पर्यन्त यसैपार्टीमा रहेर क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुलुकको राजनीतिक अस्थिरतालाई स्थिरता दिन आगामी २०८४ मा हुने निर्वाचनमा ‘एमालेलाई ५१ प्रतिशत मत’ भन्ने अभियानका साथ देशव्यापी अभियानका रूपमा जनतामा जानुपर्ने बताउनुभयो ।