detail-img

कामलाई योजनाकेन्द्रित गर्नु जरुरी छः महासचिव पोखरेल

जनसंगठन संयन्त्रको बैठक
७ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी कामलाई योजनाकेन्द्रित गर्नु जरूरी रहेको बताउनुभएको छ । 
पार्टीको जनसंगठन समन्वय संयन्त्रको आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा महासचिव पोखरेलले योजनाकेन्द्रित काम सम्पादन गर्ने कुरामा कमजोरी देखिन थालेको बताउनुभयो । 
निर्धारित काममा पार्टीपङ्तीलाई प्रतिबद्ध बनाउन सकिएन भने चुनौतीहरूको सामना गर्न कठिन हुने बताउँदै महासचिव पोखरेलले पार्टीका सबै नेताकार्यकर्तामा निष्ठा, प्रतिबद्धता र समर्पण आवश्यक रहेकोमा जोड दिनुभयो । 
यतिबेला पार्टी र पार्टीको नेतृत्वविरूद्ध साइवर आक्रमण भइरहेको तर पार्टीपङ्ती प्रतिरक्षा र बहसको मामिलामा उदासिन देखिएको भन्नुहुँदै महासचिव पोखरेलले वैचारिक बहस र मुद्धामा केन्द्रित भएर लाग्नुु जरुरी रहेको बताउनुभयो । 
पार्टीले विगतमा धेरै र अफ्ठ्यारा चुनौतीहरू पार गरेर आएको चर्चा गर्नुहुँदै उहाँले जतिबेला जस्तो चुनौती आइपर्छ, त्यसको सामना गर्न सकिएन भने अगाडि बढ्न नसकिने बताउनुभयो ।  यतिवेला पार्टीविरूद्ध भइरहेको हमलाको प्रतिवाद जरुरी रहेको भन्दै उहाँले पार्टीको उद्देश्य र सङ्कल्प व्यवस्थित ढङ्गले सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयोे । 
महासचिव पोखरेलले अबको पार्टीको तीनमहिने अभियान सदस्यता विस्तार र तल्लो तहसम्म कमिटी निर्माणका साथै पार्टी जनतासँग जोडिने कुरामा केन्द्रित हुने बताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले बैठक आरम्भ गर्दै बैठकमा जनसंगठनहरूको कामको समीक्षा लगायत विषयमा छलफल गरिने बताउनुभयो ।
बैठकमा स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, राजेन्द्र गौतम, सीता पौडेल, कृष्णगोपाल श्रेष्ठ, इन्चार्जको जिम्मेवारीमा रहनुभएका पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका सदस्यहरूका साथै जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो । बैठकमा जनसंगठनका  अध्यक्षहरूले आ–आफ्ना संगठनको रिपोर्टिङ गर्नुभएको थियो । बैठकले अधिवेशनका लागि अवधि पुरा भएका १६ वटा जनसंगठनलाई समयमै अधिवेशन सम्पन्न गर्न र पार्टीले अभियानका रूपमा आयोजना गर्ने तीनमहिने वडातहको पार्टी काममा जनसंगठनहरूलाई योजना बनाएर लाग्न निर्देशन गरेको केन्द्रीय सदस्य रचना खड्काले बताउनुभयो ।