१० पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले आज आयोजना गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले ऐतिहासिक परिवर्तन गर्न र मुलुकको सङ्कट समाधान गर्न कांग्रेस–एमाले एकठाउँमा उभिने गरेका बताउनुभयो ।
उहाँले भन्नुभयो– राष्ट्रिय सङ्कट परेको बेलाका कांग्रेस र कम्युनिष्ट मिलेका छन् र ऐतिहासिक जित हासिल गरेका छन् ।
देशमा अप्ठेरो स्थिति परेको बेलामा मिलेका भए पनि कांग्रेस र एमाले एक आपसका प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा बिर्सन नमिल्ने बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । कहिलेकाहीँ यो प्रतिस्पर्धा अस्वस्थ पनि हुने गरेको बताउँदै उहाँले प्रतिस्पर्धा अस्वस्थ हुनबाट जोगाउन सबै लाग्नुपर्ने उहाँको धारणा छ ।
पत्रकारको समाजमा दोहोरो भूमिका भएको बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले लेख्न बस्दा भने पत्रकारले व्यावसायिक धर्म बिर्सनु नहुनेमा जोड छ । ‘पत्रकारिताको धर्म पालना गर्दा व्यावसायिकताको झण्डालाई झुक्न दिनु हुँदैन, यो कुरामा सन्तुलन कायम गर्नुपर्छ, मादल बजाउँदा हार्मोनियम छुट्ने, हार्माेनियम बजाउँदा मादल छुट्नु हुँदैन’, उहाँले भन्नुभयो ।
पत्रकारिता क्षेत्रले सधैँ साँचो कुरा लेखिदेओस् भन्ने राजनीतिक क्षेत्रलाई लागिरहने उहाँले बताउनुभयो । ‘झुट कुरा लेखेर बजारीकरण गर्न खोज्दा पीडा पनि हुन्छ, रिस पनि उठ्छ, दुःख पनि लाग्छ’, बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।
एउटा राजनीतिकर्मीले प्राप्त गरेको हैसियत सार्वजनिक सम्पत्ति हुने उहाँले बताउनुभयो । त्यसलाई बदनाम गराउने अधिकार कसैलाई नहुने बताउँदै उहाँले उसले बदमासी गरे पब्लिक अडिट हुने धारणा बरिष्ठ उपाध्यक्ष पोखरेलको छ । राजनीति र सञ्चार क्षेत्रमा केही समस्या भए बसेर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।
सबैको आधारभूत कुरा देश भक्ति भएको बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले सबैको एउटै उद्देश्य देशको रक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ‘यो देशको रक्षा गर्नु सबैको कर्तव्य हो, तर देशको रक्षा छिमेकीलाई गाली गरेर मात्र हुँदैन, स्वाभिमानले शिर ठड्याउँदा मात्र देशको रक्षा हुन्छ’, उहाँले भन्नुभयो ।
नेपाल दुई ठुला देशको बीचमा रहेको हुँदा दुबै देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेतृत्वले छिमेकीसँग आँखा जुधाएर गफ गर्न सक्के हैसियत राख्नुपर्ने उहाँको धारणा छ ।
सञ्चार क्षेत्रले जियो पोलिटिकल सेन्सेटिभिटीलाई बुझेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । छिमेकीलाई तथानाम गाली गर्ने र घुँडा टेक्ने दुवै कुराबाट जोगिएर अघि बढ्ने कुरामा ध्यान जानुपर्ने बरिष्ठ उपाध्यक्ष पोखरेलको धारणा छ ।
यति बेला मुलुकको सङ्कट सामना गर्न ऐतिहासिक पृष्ठभूमि भएका दुई राजनीतिक पार्टी सरकारमा पुगेको कुरा बुझिदिन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो । कांग्रेस–एमाले बाँडिचुँडी खान सरकारमा नगएको उहाँले प्रष्ट पार्नुभयो ।