१२ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताउनुभएको छ ।
शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको कारण रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताउनुभयो ।
पार्टी कार्यकर्ताले पार्टीका आधारभूत मूल्यमान्यतालाई मान्नुपर्ने तर रावल त्यसभित्र टिक्न नसक्नुभएको र लामो समयदेखि पार्टी अनुशासनभन्दा बाहिर रहनुभएको उहाँले प्रष्ट पार्नुभयो ।
महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकारमा मनोनीत गर्ने नीतिगत निर्णय पार्टीले गरेको भए पनि उहाँले त्यसलाई नस्वीकार्नु भएको बताउँदै महासचिव पोखरेलले सल्लाहकार नभएर बाहिर बसेर पार्टीको पक्षमा काम गर्न सकिने भए पनि रावल हरेक समय पार्टीको विरुद्धमा उभिनु भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– पार्टीका हरेक निर्णय र नीतिका विपक्षमा क्याम्पियन चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफै निक्लिएको हो भन्ने बुझ्नुपर्दछ । एमालेका नेतादेखि सदस्यसम्म सबैले एमालेको विधि विधान र अनुशासनमा बस्नुपर्ने प्रष्ट पार्दै संसद्भित्रको संसदीय ह्विप उलङ्घन गरेकै दिनबाट रावलले एमाले छाडिसक्नुभएको महासचिव पोखरेलले बताउनुभयो । तथापि एमालेले उहाँलाई सुध्रिने अवसर दिएको र रावल नसुध्रिएको महासचिव पोखरेलको भनाइ छ ।
रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने भए पनि आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– आफू जिम्मेवारीमा रहँदा जङ्गी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारी बमोजिमको अनुशासनमा बस्नु पर्दैन ?
पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको बताउँदै त्यसको अर्थ उहाँले पार्टी छाडिसक्नुभएको उहाँले स्पष्ट पार्नुभयो ।
अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने उहाँहरूलाई सचेत मात्र गराइएको उहाँले स्पष्ट पार्नुभयो । निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको र उहाँहरूको पार्टीभित्रै प्रभावकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कानुनी जटिलताको कारण विकास निर्माणले गति लिन नसकेको हुँदा त्यस्ता कानुनी जटिलतालाई संशोधन गर्ने काम वर्तमान सरकारले सुरु गरेको बताउनुभयो ।
सामान्य तरिकाबाट आजको निराशालाई चिर्न र देशको अर्थतन्त्र विकास गर्न नसकिने बताउँदै उहाँले यसका लागि फरक ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभयो । राज्यको आर्थिक हिसाबले सामथ्र्य अति कमजोर भएको अवस्थामा वर्तमान सरकार बनेकाले त्यसको सुधारको काम सरकारले गरिरहेको महासचिव पोखरेलले बताउनुभयो ।
अस्थिरता मच्चाउन चाहनेबाट निराशाको खेती
नेपालमा अहिले निश्चित व्यक्तिहरूले निराशाको खेती गरिरहेका र अस्थिरता मच्चाउन चाहने शक्तिले यस्तो काम गरिरहेको उहाँको भनाइ छ ।
उद्योगी व्यवसायीमा देखिएको निराशा तथा युवा पलायनको अवस्थालाई रोकी मुलुकलाई पुनः आशावादी बनाउने र आर्थिक सङ्कटबाट बाहिर निकाली राजनीतिक स्थायित्व कायम गर्नुपर्छ भन्ने आधारमा अहिले एमाले र कांग्रेस मिलेर सरकार बनाएको उहाँले प्रष्ट पार्नुभयो । संविधानको सबल पक्षलाई अघि बढाउने र दुर्बल पक्षलाई सुधार गर्ने विषयमा दुई दलको सहमति रहेको महासचिव पोखरेलले बताउनुभयो । पहिला दुई दल बसेर छलफल गरी त्यसको पहिचान गरी अन्य राजनीतिक दल र जनस्तरमा समेत छलफल गरेर संविधान संशोधन गरिने उहाँले जानकारी गराउनुभयो ।
‘कुनै पनि काम समयमा सम्पन्न गर्नुपर्दछ, समयमा काम गरिएन भने त्यसको मूल्य राज्यले चुकाउनु पर्दछ भन्ने हिसाबले हामीले काम सुरु गरेका छौं, महासचिव पोखरेलले भन्नुभयो ।
नेपालमा राजनीतिक दलले काम गर्ने अवसर नै नपाएका उहाँले बताउनुभयो । १० वर्ष देश सशस्त्र द्वन्द्वमा फसेको, १० वर्ष संविधान बनाउने काममा नै अलमलिएको कारण राजनीतिक दलले संविधान निर्माणपछि जम्मा १० वर्ष मात्रै काम गर्ने अवसर पाएको तर त्यस अवधिमा पनि देशले अस्थिरता नै झेल्नुपरेको महासचिव पोखरेलले सुनाउनुभयो ।
नेपालको राजनीतिभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थिरताको बिउ रोप्ने काम गरेको उहाँको भनाइ छ । कांग्रेस र एमालेलाई उचालेर प्रचण्डले अस्थिरतामा खेल्ने काम गर्नुभएको उहाँले बताउनुभयो । प्रचण्डले कहिले एमालेलाई बोक्ने र कहिले कांग्रेसलाई बोक्ने काम गरेपछि यो त अति भयो भनेर कांग्रेस र एमाले एकठाउँमा उभिएका महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । लोकतन्त्रमा जनताले अस्वीकार गरेका राजनीतिक दलले शासन गर्ने कुरा अन्त्य गर्नुपर्छ भनेर कांग्रेस एमाले मिलेको उहाँले प्रष्ट पार्नुभयो ।
सहकारीको पैसा गोर्खा मिडियामा लैजाने काम सुनियोजित
फरक प्रसङ्गमा महासचिव पोखरेलले सहकारीको पैसा गोर्खा मिडियामा लैजाने काम सुनियोजित रूपमा भएको बताउनुभयो । एउटा सहकारीबाट लगेको भए कहिलेकाहीं भुलचुकमा भन्न सकिने भए पनि छ वटा सहकारीबाट गोर्खा मिडियामा रकम लैजाने कुरालाई सहज मान्न नसकिने उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– एक ठाउँबाट पैसा लिने कुरा कहिलेकाहीं भुलचुकमा हुन सक्छ, तर छ÷छ ठाउँबाट स्रोत जुटाउने कुरा नियोजित होइन भन्न सक्ने स्थिति देखिएन ।
रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनिसकेपछि पनि चेक काटेर गोर्खा मिडियाको रकम आफ्नो खातामा ल्याउनुले सो घटनामा उहाँको संलग्नतालाई पुष्टि गरेको उहाँले बताउनुभयो । रास्वपाका कार्यकर्ताले प्रतिशोध भन्ने गरेका भए पनि तथ्यले त्यस्तो नदेखाएको उहाँको धारणा छ ।