detail-img

‘रावल आफ्नै कर्मले पार्टीबाट बाहिर’

१२ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुक निर्माणका लागि आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । 
नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैंडाकोटमा विधान तथा नीति निर्माणको सन्दर्भमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले समस्याबाट भागेर समाधान ननिस्कने बताउनुभयो । हरेक समस्यासँग लड्दै अघि बढ्नु नै बुद्धिमानी हुने उहाँको धारणा छ । 
पार्टीको विपक्षमा बोल्दै हिँडेका कारण भीम रावल आफ्नै कर्मले पार्टीबाट बाहिरिनुभएको उहाँले बताउनुभयो । ‘जसले एमाले सिध्याउन लागेका छन्, उनीहरूलाई वडो चिन्ता लागेको छ, उनीहरूले वडो दुःख व्यक्त गरेका छन्, अनुशासनहीनता उद्देश्य प्राप्तिको लागि तगारो हुने गर्दछ’, उहाँले भन्नुभयो । 
अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरि क्रियाशील हुने आधार हो भन्ने बुझ्नुपर्ने उहाँले बताउनुभयो । पार्टीलाई अनुशासित बनाउनका लागि यो कदम चालिएको उहाँले स्पष्ट पार्नुभयो । 
महासचिव पोखरेलले अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
हिजो के भयो भनेर होइन अब के गर्ने भनेर देश निर्माणको दिशामा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 
आज पनि पार्टी र नेतृत्वमाथि नै चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको महासचिव पोखरेलले बताउनुभयो । काम गर्नेले नै गल्ती गर्ने बताउँदै अहिले राम्रो काम गरेको कारण एमाले माथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको उहाँको भनाइ छ । 
अस्थिरताको कारण मुलुक बर्बाद भएको बताउँदै महासचिव पोखरेलले त्यही अस्थिरतामा खेल्ने कुरालाई प्रचण्डले आफू डाइनामिक भन्ने गर्नुभएको बताउनुभयो । अस्थिरतालाई रोक्न कांग्रेस–एमाले मिलेका र साना पार्टीका कारण देशमा अस्थिरता नआओस् भनेर यसो गर्नुपरेको उहाँले बताउनुभयो ।