detail-img

मधेसको विकासका लागि एमालेको नेतृत्व आवश्यक छः महासचिव पोखरेल

१३ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस सरकारमा  नेकपा (एमाले) सामेल भएपछि उपभोक्ता समितिको नाममा बजेट दुरुपयोग गर्ने परम्परा अन्त्य भएको बताउनुभएको छ । 
नेकपा (एमाले) महोत्तरीद्वारा रामगोपालपुरमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले मधेसमा एमाले सरकारको एउटा अंश मात्र भएको बताउँदै एमालेले नेतृत्व गर्ने हो भने मधेसका जनताको अपेक्षा अनुसार काम गरेर देखाउने बताउनुभयो । 
विगतमा मधेसमा एमाले आउन खोज्दा एमाले मधेस विरोधी पार्टी हो भन्ने भ्रम फिँजाइएको र अध्यक्ष केपी शर्मा ओलीलाई मधेस विरोधी नेताको रूपमा चित्रित गर्ने प्रयास गरिएको उहाँले स्मरण गराउनुभयो । तर मधेसको विकासको नेतृत्व गर्ने पार्टी नेकपा (एमाले) नै हो भन्ने कुराको सच्चाईलाई मधेसका जनताले बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
मधेसको नाममा राजनीति गर्नेले मधेसको विकासको लागि कुनै काम नगरेपछि मधेसको विकासको नेतृत्व नेकपा (एमाले)ले गर्नुपर्छ भन्ने सङ्कल्प अध्यक्ष ओलीले गरेर मधेसको विकासमा लाग्नुभएको महासचिव पोखरेलले बताउनुभयो । भारत सरकारले लामो समयसम्म काम नगरेर अलपत्र पारेको हुलाकी राजमार्ग अध्यक्ष ओली प्रधानमन्त्री हुँदा बनाइएको उहाँले स्मरण गराउनुभयो । 
एसियाली विकास बैङ्कसँग सहायता लिएर पूर्वपश्चिम राजमार्गसँग तराईका सदरमुकामलाई जोड्ने र तराई मधेसका सबै सदरमुकाम आधुनिकीकरण गर्ने काम पनि नेकपा (एमाले) नेतृत्वकै सरकारले गरेको उहाँले बताउनुभयो । ‘एउटा असल पार्टी, एउटा असल नेतृत्व राज्य सत्तामा आयो भने के गर्न सक्दो रहेछ भन्ने कुरा एमालेले गरेर देखाएको छ’, उहाँले भन्नुभयो । 
नेपालको पानी तराई मधेसले प्रयोग गर्न पाउनु पर्दछ भनेर सुनकोसी–मरिण डाइभर्सन र बबई डाइभर्सनको काम गर्ने पार्टी पनि नेकपा (एमाले) नै भएको उहाँले बताउनुभयो । ती दुईवटा योजना बनेपछि मधेसमा बाह्रै महिना सिँचाइको सुविधा पुग्ने उहाँले स्पष्ट पार्नुभयो । 
राजनीतिक अस्थिरताका कारण मुलुकको विकासले गति लिन नपाएको हुँदा एमालेले मिसन–२०८४ भनेको र यो देश बनाउने अभियान भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । मधेसले खोजेको काम नेकपा (एमाले)ले गर्न सक्ने भएकाले २०८४ को निर्वाचनमा एमालेलाई बहुमत दिन उहाँले आग्रह गर्नुभयो । 
अहिले पनि एमाले र एमाले नेतृत्वमाथि घेराबन्दी र आक्रमण भइरहेको बताउँदै महासचिव पोखरेलले यसको प्रभाव सिङ्गो देश विकासमा पर्ने बताउनुभयो । ‘नेकपा (एमाले)माथि जुन खालको घेराबन्दी र आक्रमण गरिरहेका छन् त्यो एमालेमाथिको आक्रमण मात्र होइन, नेपाली जनताको भविष्यमाथिको आक्रमण हो, मधेसी जनतामाथिको आक्रमण हो’, उहाँले भन्नुभयो । 
नेकपा (एमाले)को पक्षमा जनता अब एक भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । मधेसका जनताले अबको भविष्यको आकलन गरिसकेको बताउँदै त्यसैले एमाले प्रवेशको लहर चलेको उहाँले बताउनुभयो । जति बेलासम्म मधेसमा नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्दैन त्यति बेलासम्म एमाले प्रवेशको लहर चलिरहने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टीका सयौं कार्यकर्ता तथा समर्थक नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।