१७ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको २१औं बैठक पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्नका लागि यही माघ महिनादेखि चैतसम्म तीन महिने ‘वडा–केन्द्रित पार्टी निर्माण अभियान’ सञ्चालन गर्न एक कार्यक्रमिक प्रस्ताव केन्द्रीय सचिवालयमा पठाउने लगायत महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
पार्टी महासचिव शंकर पोखरेलको विशेष उपस्थितिमा विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुस १६ गते बसेको बैठकले सदस्यता नवीकरण सम्बन्धी महत्वपूर्ण निर्णय गर्नुका साथै धनुषा जिल्लामा २०८१ सालको पार्टी सदस्यता नवीकरणका क्रममा देखापरेका समस्या समाधान गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै विभागका सचिव माधव ढुंगेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ–
१.बैठकले गत मंसिर २९ र ३० गते काठमाडौंमा सम्पन्न भएको ‘पार्टी कामका समस्या र समाधान’ बिषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्टीको सङ्क्षिप्त समीक्षा गरेको छ । स्टेयरिङ कमिटीले तयार पारेको बिषयगत प्रारम्भिक निष्कर्षलाई बैठकमा आएका सुझावहरूका आधारमा परिमार्जन गरी अन्तिमरूप दिएर केन्द्रीय सचिवालयमा पठाउने ।
२. त्यसैगरी बैठकले कार्यशालामा सहभागीहरूबाट प्राप्त सुझावहरूको सूचि शीर्ष नेतृत्वलाई उपलब्ध गराउने ।
३. बैठकले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्नका लागि यही माघ महिनादेखि चैतसम्म तीन महिने ‘वडा–केन्द्रित पार्टी निर्माण अभियान’ सञ्चालन गर्न एक कार्यक्रमिक प्रस्ताव केन्द्रीय सचिवालयमा पठाउने ।
४. २०८२ का लागि पार्टी सदस्यता नवीकरण, सदस्यता विस्तार र अनलाइन अभिलेखीकरणको काम आगामी चैत महिनाभित्र सम्पन्न गर्नका लागि पार्टी जिल्ला कमिटीका बैठक अनिवार्यरूपमा माघ महिनाभित्रै राखेर निम्नानुसार तीनबटा काम गर्न निर्देशन गर्नुपर्नेः
क. २०८२ का लागि नवीकरण हुनसक्ने योग्य पार्टी सदस्यहरूको जिल्ला कमिटीको बैठकबाट निर्णय गर्ने ।
ख. पार्टी सदस्यता विस्तारका लागि मतदाताको न्युनतम ६ प्रतिशत जिल्ला तथा पालिका कमिटीले र ३ प्रतिशत वडा कमिटीले बृद्धि गर्नुपर्ने सङ्ख्या किटानी गरेर कार्ययोजना बनाउनुपर्ने ।
ग. सम्पूर्ण पार्टी सदस्यहरूको अनलाइन अभिलेखीकरणका लागि माघभित्रै प्रदेश/जिल्लास्तरमा विज्ञहरूबाट सम्बन्धित कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने ।
५. बैठकले मधेश प्रदेशको धनुषा जिल्लामा २०८१ सालको पार्टी सदस्यता नवीकरणका क्रममा देखापरेका समस्या समाधान गर्न कार्यदलले पुस महिनाभित्र समस्या समाधान गरी विभागमा प्रतिवेदन बुझाउने गरी स्थायी कमिटी सदस्य तथा संगठन विभागका सदस्य भानुभक्त ढकालको संयोजकत्वमा विभागका सदस्यहरू ज्वाला साह र सुमन प्याकुरेल सदस्य रहेको एक कार्यदल बनाउने निर्णय गरेको छ ।