detail-img

अनेरास्ववियुलाई एकताबद्ध भई मैदानमा उत्रिएर स्ववियु निर्वाचनमा विजय हासिल गर्न निर्देशन

२५ पुस (२०८१), काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)लाई आग्रह गर्नुभएको छ ।
अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैशाखी नटेकी आफै दौडिएर पदक जित्ने गरेका उदाहरण प्रस्तुत गर्नुभयो । 
अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ तुफान भएर अगाडि बढ्न र सफलता हासिल गर्न शुभकामना दिनुभयो । 
नेपालको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै उहाँले गङ्गालालले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन दिनुुभएको  र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी नै आफ्नो पार्टी एमाले भएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले त्यही बिउ फुकेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर रहेको बताउनुभयो । 
नेकपा (एमाले)लाई मार्छौं र सिध्याउँछौं भन्नेहरूलाई पनि आफूहरूले जनमतमा पहिलो शक्ति भएर देखाइदिएको बताउनुभयो । 
‘खै एमाले ?, कहाँ छ एमाले ? भन्नेहरूलाई प्रतिस्पर्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ’, अध्यक्ष ओलीले भन्नुभयो– विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र सङ्घर्षले लोकप्रिय हुने क्षेत्र होइन । यो राम्रो काम गरेर शान्तिपूर्णरूपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ । म साथीहरूलाई राम्रो काममा ‘एग्रेसिभ्ली’ लाग्न आग्रह गर्दछु ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यार्थी महोत्सवसँग समेटिएको पुस्तकको लोकार्पण गर्नुभयो ।
कार्यक्रम पार्टीका महासचिव शंकर पोखरेलले भविष्यका कर्णधारका रूपमा रहेका विद्यार्थी वर्गको पहिलो रोजाइ अनेरास्ववियु मात्रै हुन सक्ने बताउनुभयो । 
कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुुभक्त ढकाल, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताहरूको उपस्थिति थियो । आगामी फागुन १५ गते विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदैछ ।