detail-img

माघी पर्वलाई गौरवको पर्वका रूपमा मनाउनुपर्छः महासचिव पोखरेल

२७ पुस ( २०८१), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माघी पर्वलाई ऐतिहासिक र गौरवको पर्वका रूपमा निरन्तरता दिनुपर्ने बताउनुभएको छ । 
नेपाल लोकतान्त्रिक थारु संघले आयोजना गरेको मघौटा सांस्कृतिक मेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले माघी पर्वलाई थारु संस्कृतिको पहिचान मात्र नभई समृद्ध नेपाल निर्माणमा प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताउनुभयो । 
थारु समुदायको योगदान र संस्कृति नेपाली समाजको केन्द्रबिन्दु भएको उल्लेख गर्दै महासचिव पोखरेलले आफू मुख्यमन्त्री भएको समयमा लुम्बिनी प्रदेश सरकारले माघी पर्वलाई ऐतिहासिक र गौरवपूर्ण पर्वका रूपमा मनाउने सुरुवात गरेको स्मरण गर्नुभयो । यस परम्परालाई अझ सशक्तरूपमा निरन्तरता दिनुपर्ने धारणा उहाँले राख्नुभयो ।
महासचिव पोखरेलले थारु समुदायको परम्परागत कृषि प्रणालीलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समुदायको आर्थिक सुधार र समृद्धिका लागि कृषि पद्धति परिवर्तन गर्न आवश्यक भएको बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– थारु समुदायले परम्परादेखि गर्दै आएको कृषि प्रणालीमा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रुपान्तरण गर्नुपर्छ ।
थारु समुदायको नेतृत्वमा समाज रुपान्तरणको सम्भावना रहेको उल्लेख गर्दै उहाँले समाजको आर्थिक र सामाजिक परिवर्तनको नेतृत्व गर्न थारु समुदायले आफ्नो जीवनशैलीलाई बदलेर समृद्धिको सङ्कल्प गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले  थारु समुदायका अगुवाहरूलाई छलफल र विमर्शमार्फत नयाँ सोच र रणनीतिमा अगाडि बढ्न आग्रह गर्नुभयोे ।
थारु समुदायको संस्कृति नेपाली संस्कृतिको आधारभूत हिस्सा भएको बताउँदै यसलाई जगेर्ना गर्दै आधुनिक सन्दर्भमा अझ सशक्त बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– थारु संस्कृतिले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो पहिचान बनाएको छ । यसमा हामीले गर्व गर्नुपर्छ ।
माघी पर्वले थारु समुदायको ऐतिहासिक र सांस्कृतिक योगदानलाई सम्मान गर्न सक्ने मात्र नभई, प्रदेश र देशको एकता र समृद्धिका लागि समेत प्रेरणा दिने उहाँको धारणा छ । थारु समुदायले आफ्नो सांस्कृतिक मूल्यमान्यता जोगाउँदै समृद्धिको यात्रामा अघि बढ्दा समाजका सबै वर्गलाई समेट्ने परिवर्तनकारी नेतृत्व प्रदान गर्न सक्ने विश्वास महासचिव पोखरेलले व्यक्त गर्नुभयो ।
माघी पर्व केवल उत्सव मात्र नभई थारु समुदायको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको माध्यम हुनसक्ने सङ्केत गर्दै महासचिव पोखरेलले यस पर्वलाई प्रदेशभरको साझा उत्सवका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।