-सरकारले ल्याएको अध्यादेशबाट भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान हुने विश्वास
-घोराही–तुलसीपुर सडक विस्तारका लागि बजेट सुनिश्चित
-लमही–घोराही सडक विस्तार गर्न डिटेल प्रोजेक्ट रिपोर्ट बन्दै
-टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार
-औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्तिको नीतिगत निर्णय
३ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा अहिले लगानीमैत्री वातावरण तयार भएको बताउनुभएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आज दाङमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले देशको आर्थिक अवस्था पनि क्रमशः सुधार हुँदै गएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न आग्रह गर्नुभयो ।
मूल्यवृद्धि घटेको, बैंङ्कको ब्याजदर कम भएको, विदेशी मुद्रा सञ्चिति बढेको, राजस्व सङ्कलन सुधार भएको र अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको महासचिव पोखरेलले सुनाउनुभयो । यस्तो अवस्थामा पनि व्यवसायीहरू अझै उत्साहित हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
घोराही–तुलसीपुर सडक विस्तारको कामलाई सरकारले बजेट सुनिश्चित गरेर अघि बढाएको जानकारी दिँदै उहाँले फोर लेन सडक निर्माणको कामले उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउनुभयो ।
लमही–घोराही सडक विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइरहेको जानकारी दिँदै उहाँले आगामी आर्थिक वर्षमा यसको टेण्डर प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । मसोट खोला क्षेत्रमा वैकल्पिक मार्ग निर्माण गरी आउने र जाने दुईवटा पुल निर्माण गरिने योजना रहेको र यसले व्यावसायिक क्षेत्रमा सहयोग गर्ने धारणा महासचिव पोखरेलले राख्नु भयो ।
टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार भइसकेको र विमानस्थललाई थप व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा प्राप्तिको नीतिगत निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उल्लेख गर्दै अब जग्गा नामसारीका लागि पहल गर्नुपर्ने र त्यसपछि डिपिआर निर्माण हुने जानकारी दिनुभयो । दाङमा इन्धन डिपो स्थापना गर्ने प्रक्रिया अघि बढेको र यसले पेट्रोल पम्पहरूले नेपालगन्जबाट इन्धन ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने पनि उहाँले बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासलाई विशेष प्राथमिकता दिँदै शैक्षिक कार्यक्रम सुरु भएसँगै शिक्षा र स्वास्थ्य सेवामा ठूलो उपलब्धि प्राप्त भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले चारसय शय्याको भवन निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै केही वर्षभित्र प्रतिष्ठानले उल्लेखनीय सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि ल्याइएको अध्यादेशबारे चर्चा गर्दै उहाँले अध्यादेशले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने बताउनुभयो । सार्वजनिक सेवा प्रभावकारी बनाउन र लगानी मैत्री वातावरण तयार गर्न सरकारले ठोस कदम चालेको उहाँले बताउनुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी, संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठलगायतले बोल्नु भएको थियो ।