detail-img

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरतः प्रधानमन्त्री

३ माघ (२०८१), कास्की  । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरूले भन्दै आएको सर्वे भवन्तु सुखिनःको आधुनिक रूप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरू काम गरिरहेको स्पष्ट गर्नुभयो । 
उहाँले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरूलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाउनुभयो । 
प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराउनुभयो । 
‘हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो– चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताउनुभयो । 
कार्यक्रममा एमडी र एमएस मा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन् । 
यसैगरी कुलपति ओलीले  उत्कृष्ट विद्याथीहरू अरविन्दकुमार शाह (अर्थोपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गर्नुभयो । 
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा. माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गर्नुभएको थियो । 
प्रतिष्ठानका उपकुलपति प्रा. डा. डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शैय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिनुभयो ।