९ माघ (२०८१), पोखरा । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पार्नुभएको छ ।
नेकपा (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले मुलुकमा बढेको अस्थिरता र बेथितिको अन्त्य गरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो ।
उहाँले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ सत्ता सहकार्य गरिएको स्पष्ट पार्नुभयो ।
यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उहाँले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गर्नुभयो । सरकार सुशासन र विकासप्रति प्रतिबद्ध रहेको र जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै पार्टीलाई मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवाह पैmलाउनेविरूद्धमा सङ्गठित भएर प्रतीकार गर्न पनि आग्रह गर्नुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
जनताको घरदैलोमा पार्टी पुर्याउने लक्ष्यका साथ तीनमहिने वडा केन्द्रित अभियान सञ्चालन गर्न लागेको बताउँदै उहाँले यसका लागि सम्पूर्ण कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
नेकपा (एमाले) कास्कीका उपाध्यक्ष भेषराज बरालले वर्तमान सरकार गठन भएदेखि नै आर्थिक सूचकहरू सन्तोषजनक देखिएको बताउँदै समृद्धिका लागि युवालक्षित कार्यक्रमलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दर्शन लामाले आन्तरिक पार्टी निर्देशनलाई पूर्णरूपमा पालनासहित कार्यान्वयन गर्दै आएको स्पष्ट पार्नुभएको थियो ।