detail-img

केही गर्छु भन्नेका लागि नेपालमा अवसरै अवसर छन्ः महासचिव पोखरेल

स्वास्थ्यकर्मीहरूका दुई संगठन राष्ट्रिय स्वास्थ्य महासंघ नेपालमा आबद्ध 

११ माघ (२०८१), काठमाडौं । नेपाल डेण्टल साइन्स हाइजेनिष्ट सोसाइटी र नेपाल फिजियो थेरापी संघका अध्यक्ष तथा केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आबद्ध हुनुभएको छ । 
नेकपा (एमाले)को जनसङ्गठनका रूपमा रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघमा आबद्ध स्वास्थ्यकर्मीहरूलाई नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गर्नुभयो । 
यसरी महासंघमा आबद्ध हुनुहुनेहरूमा नेपाल डेण्टल साइन्स हाइजेनिष्ट सोसाइटीका अध्यक्ष माइकल देवकोटा, महासचिव दिलीपकुमार गाहा र केन्द्रीय सदस्य डा.सजय कुमार तिवारी हुनुहुन्छ ।  
त्यसैगरी नेपाल फिजियो थेरापी संघका अध्यक्ष समित कतिला श्रेष्ठ, केन्द्रीय सदस्यहरू उज्वल डोटेल, सौगात श्रेष्ठ लगायत पनि महासंघमा आबद्ध हुनुभएको छ । दुबै पेशागत संगठनका अध्यक्ष तथा अधिकांश सदस्यहरू महासंघमा आबद्ध भएकाले अब दुबै संगठन महासंघका घटक संगठनका रूपमा काम गर्ने बताइएको छ । 
स्वागत कार्यक्रममा महासचिव पोखरेलले नेपालका केही गर्छु भन्नेलाई अवसर नै अवसर रहेको बताउनुभयो । 
नेपालमा अवसर छैन भन्ने कुरा नै गलत भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– जहाँ विकास भइसकेको हुँदैन, त्यहाँ सम्भावना ज्यादा हुन्छ, जहाँ विकासका सम्भावना छन्, त्यहाँ केही गर्न चाहनेका लागि अवसरहरू पनि छन् । 
नेपालमा स्वास्थ्य क्षेत्रका उत्पादित ८० प्रतिशत जनशक्ति विदेश जानु विडम्बनाको कुरा भएको उहाँले बताउनुभयो । देशमा जनशक्ति कम भइरहेको अवस्थामा पनि दक्ष जनशक्ति विदेसिने क्रम चलिरहेकाले त्यसलाई रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
स्वास्थ्य क्षेत्र प्रभावकारी हुँदा मात्र राष्ट्र समृद्ध बन्ने बताउँदै महासचिव पोखरेलले स्वास्थ्य क्षेत्र कमजोर भयो भने सामाजिक सूचकका दृष्टिले देशलाई समृद्ध र सुखी मुलुक भन्न नसकिने प्रष्ट पार्नुभयो । 
अहिले पनि नेपालीको ठुलो सङ्ख्या उपचारको लागि देश बाहिर जानु पर्ने बाध्यता रहेको, उच्च र उच्चमध्यम वर्गका मानिसहरू मात्र होइन, सीमावर्ती क्षेत्रका विपन्न नागरिक पनि उपचारको लागि बाहिर जाने गरेको उहाँले बताउनुभयो ।  
महासचिव पोखरेलले आँखाको उपचारका लागि भने विदेशका मानिसहरू पनि नेपाल आउने गरेको र चिकित्सा क्षेत्रमा सामथ्र्य वृद्धि गर्ने हो भने नेपालमा उपचारको लागि देश बाहिरका मानिसहरू पनि आउने विश्वास व्यक्त गर्नुभयो । नेपाललाई अध्ययन र स्वास्थ्य उपचारको हिसाबले समेत पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।