detail-img

‘नेपाल सफलताको देश हुनेछ’

केपी शर्मा ओली, प्रधानमन्त्री

हामी विभिन्न खालका सडक सञ्जालहरू, सुरुङ मार्गहरू, झोलुङ्गे पुलहरू, पक्की पुलहरू, हवाइ यातायात, हवाई मार्गहरू, केवलकारहरू लगायत कुराहरूबाट अनेक ठाउँहरूलाई सुगम, रमाइला र विकसित ठाउँहरूका रूपमा परिणत गर्ने छौं ।

 

आज खुशीको दिन हो । हामीले सिद्धबाबा सुरुङको ‘ब्रेक–थ्रु’ गर्न सफल भएका छौं । केही वर्ष अगाडि म बुटबल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरूले गीत गाउनुु भएको थियो– कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड ? भनेर । साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा हरेक वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुःखदायी अवस्था थियो । त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे । त्यो गीत त्यसैकारण उब्जिएको थियो–कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड भन्ने गीत । त्यो जनताको आवाज गीतको रूपमा घन्किएको थियो । जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउथे अथवा आफ्नै भाषामा त्यो भन्थे । 
आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड । अब सुरुङको रूपमा बन्यो । अब पहिरो नजाने र नभत्किने गरी बन्यो । बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो । सफलतापूर्वक बन्यो । 
म त्यहाँ निरीक्षणमा जाँदा यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरू भन्दै थिए । तर हुन्छ, हुँदो रहेछ । सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ । यस अवसरमा म तपाईंहरूलाई बधाई भन्न चाहन्छुु र सबैलाई शुभकामना भन्न चाहन्छु । बधाई यसकारण कि तपाईंहरू त्यस पीडाबाट मुक्त हुनुभएको छ, शुभकामना यसकारण कि यसको लाभ लिनुस् । यसबाट तपाईंहरूको सहज आवागमन हुन सकोस् । तपाईंहरूका सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापार र अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडवाड सबै कुराहरूको आदान प्रदान सहज हुन सकोस् । आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुर्याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरू गर्न सक्नु हुन्छ । अब तपाईंहरू एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ । यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थ्रु भएसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमि रहने छैन । अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ । त्यसै गरेर कालिगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ । जसबाट सडकको एउटा सञ्जालको रूपमा यसले काम  गरेको छ । यसका निम्ति यसमा सहयोगकर्ताहरूलाई, दाताहरूलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु । 
छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकोमा ठेकदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङ मार्ग थियो, त्यो छिचोलिएको छ ।
मैले धेरै अगाडि, जतिबेला नागढुङ्गा–नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको थिएँ–अब नेपालमा टनेल युगको प्रारम्भ भयो अथवा हामी नेपालीहरू अब टनेल युगमा प्रवेश गरेका छौं । अब विस्तारै विस्तारै दुर्गम कच्ची पहाडहरू चढ्दै, पहिरो जाने पहाडहरू चढ्दै गाडीहरू घुमाएर मनमा दुर्घटनाको त्रास बोकेर यात्रा गरिरहनु पर्ने छैन । धेरै हामी त्यस्ता बाटाहरूलाई छोटा बाटाको रूपमा सुरुङ मार्गबाट ओल्लो बेसीबाट पल्लो बेसी र अझ पल्लो बेसी निकाल्दै सहज ढङ्गले छोटो बाटोबाट टाढाको दुर्गम सहज नहुने गन्तव्यहरू छोटो मार्गबाट पुग्न सक्छौं र त्यो हामी प्राप्त गर्न सक्छौं । पहाडहरूका लागि त्यसबाट सम्पर्क बाटाहरू निर्माण गरेर हामी ती कामहरू गर्न सक्छौं । हामी त्यहाँ लिङ्क रोडहरू बनाउँछौं, रिभर करिडोरहरू बनाउँछौं । नेपालका सबै जिल्लामा अहिले गाडी पुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झैँ रहेन तर यसलाई अझ सुगम बनाउदै लाने छौं । विभिन्न खालका सञ्जालका बाटाहरू, सुरुङ मार्गहरू, झोलुङ्गे पुलहरू, पुलहरू, हवाइ यातायात, हवाई मार्गहरू, केवलकारहरू लगायत कुराहरूबाट हामी अनेक ठाउँहरूलाई सुगम, रमाइला र विकसित ठाउँहरूका रूपमा परिणत गर्ने छौं । त्यसकारण अब नेपाल विस्तारै दुर्गमबाट सुुगम रूपमा, पिछडिएको देशबाट अगाडि बढेको देशको रूपमा, अल्पविकसित देशबाट विकासशील देशको रूपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुँदैछ भन्ने यी कुराहरूले देखाएका छन् । 
म दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, यो खुशी तपाईं हामीको खुशीे हो । यो सिङ्गै देशको खुशी हो । यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरूको ठूलो खुशी हो । त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यस बाटोबाट सजिलैसँग बुटबल अथवा बुटबलबाट पूर्व–पश्चिम जानका लागि सजिलो हुनेछ । त्यसकारण यो सुरुङ मार्गको विशेष महत्व छ । यो एउटा ऐतिहासिक घटना हो । यो इतिहासमा पहिलो पल्ट भएको सफलताको कुरा हो । त्यसकारण म सबैमा खुशी व्यक्त गर्न चाहन्छु । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । जसले यसमा काम गर्नुभएको छ, कामदारहरूलाई, मजदुरहरूलाई, इन्जिनियरहरू सबैलाई पनि धन्यवाद भन्न चाहन्छु । 
स्थानीय जनता, जसले यस सुरुङ मार्ग निर्माणका लागि सरकारलाई झक्झकाउने काम गर्नुभयो, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुभएको छ, म उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । 
यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरूलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ । यस्तै पछौटेपनहरूलाई चिर्दै जाने घटनाहरूबाट, उपलब्धिहरूबाट जोडिंँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नु पर्दछ । 
अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तिब्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुरु भएका कामहरू अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रूपमा यसले ध्यान दिइरहेको छ । यी कुराहरूमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । 
तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका ऋणहरू पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । 
यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरू र हाम्रा मित्रहरूका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं । 
म सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । धन्यवाद तथा शुुभकामना । (सम्बोधनमा आधारित)
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ माघ ११ गते सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रमका अवसरमा भर्चुअल माध्यमबाट गर्नुभएको सम्बोधन)