१३ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उद्देश्यका साथ दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिमा बनेको वर्तमान सरकारका छमहिनाको अवधिमा केही सुधारका काम भएका र त्यसको परिणाम देखिन थालेको बताउनुभएको छ ।
आज बिहान प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक सङ्कटबाट गुज्रिइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको स्मरण गर्दै अहिले राजनीतिक स्थायित्व दिँदै आर्थिक सङ्कट समाधान गर्ने सन्दर्भमा सुधारका परिणाम देखिन थालेको बताउनुुभयो ।
नयाँ सरकार बनेपछि पुँजीगत खर्च बढेको, विदेशी मुद्राको सञ्चिति बढेको तथा आर्थिक क्षेत्र चलायमान भएको उहाँले बताउनुभयो । तथापि लगानी र आर्थिक क्रियाकलापको क्षेत्रमा केही समस्या देखिएको कारण दुई दलीय संयन्त्र बनाएर त्यसको गृहकार्यमा सरकारले आर्थिक क्रियाकलाप सुधारको लागि पाँचवटा अध्यादेश ल्याएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
संसदीय प्रक्रियामा कानुन बनाउन केही लामो समय लाग्ने र मुलुकको आर्थिक सङ्कट लामो समयसम्म पर्खेर बस्ने अवस्था नभएकाले सरकारले त्यसको सुधारका लागि ती अध्यादेश ल्याएको उहाँले बताउनुभयो । नेपालका व्यावसायिक संस्थाहरूले अध्यादेशको खुलेर समर्थन गर्नुले पनि यसको आवश्यकता पुष्टि भएको महासचिव पोखरेलको भनाइ छ ।
राजनीतिक अस्थिरतामा खेल्न चाहनेहरूले यो सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने प्रचार गरिरहेका भए पनि त्यसमा कुनै सत्यता नरहेको उहाँले बताउनुभयो ।
प्रतिपक्षमा हुँदैमा विरोध नै गर्नुपर्छ भन्ने मानसिकता त्याग्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले दुई पार्टीको समझदारीमा बनेको सरकार भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।
लोकतन्त्रमा जनताले पत्याएका दलले नै शासन गर्नुपर्ने बताउँदै उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गठबन्धन अप्राकृतिक भयो भन्दै मजाक गरेर हिँड्नु भएको उहाँले बताउनुभयो । महासचिवले भन्नुभयो– कमजोरले शासन गर्ने होइन, ठुला दललाई सहयोग गर्ने हो, कमजोरले शासन गरेर देश कहिल्यै बन्दैन, बलियाहरूले नै हो, जनादेश पाएकाले नै हो देशको नेतृत्व गर्ने ।
मधेसका समस्याका विषयमा एमाले अति संवेदनशील रहेको उहाँले बताउनुभयो । मधेसको विकास कसैले गर्छ भने त्यो एमालेले मात्र गर्ने महासचिव पोखरेलले प्रष्ट पार्नुभयो ।
नीतिगत रूपमा मुलुक सञ्चालन गर्न नसक्दासम्म देशले निकास नपाउने उहाँले बताउनुभयो । मुलुकलाई विकासको बाटोमा अगाडि बढाउन एउटा पार्टीले बहुमतसहित पाँच वर्षसम्म नेतृत्व गर्न पाउने अवस्था बन्नुपर्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । ठुला पार्टीको बुई चढेर साना पार्टीले चुनाव जित्दा देशमा अस्थिरता सिर्जना भएको उहाँको भनाइ छ ।