detail-img

सहमति भए छिट्टै संविधान संशोधन, नभए केही समय लाग्छः प्रधानमन्त्री

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

-सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने 

-अहिले काँग्रेसबाट पूराका पूरा साथ र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेको  पूराका पूरा साथ

-मलाई रुघाखोकी लागेको हो । खोक्न पाएको छैन, आइसियुमा बसेको देखाउँछन् ।


१४ माघ (२०८१), भक्तपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।
‘अब नेपाल विकास क्रममा अगाडि बढेको छ, जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभए विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्दैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन्, यसमा ढुक्क भए हुन्छ ।’
प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो । 
उहाँले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने जनाउँदै सहमति भए छिट्टै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।
आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाछ्यू गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन, आइसियुमा बसेको देखाउँछन् ।
प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका काममा ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।