detail-img

वडाकेन्द्रित तीनमहिने अभियानमा प्राथमिकताका साथ सम्पादन गरिनुपर्ने कामहरू 

१५ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)ले आधारभूत तहको पार्टी कमिटीमा कम्तीमा एकतिहाई युवा सहभागी गराउने विषयलाई प्राथमिकता दिने भएको छ । 
पार्टीको केन्द्रीय योजना अनुरुप तीन महिने वडा केन्द्रित अभियान सुरु भएको सन्दर्भमा महासचिव शंकर पोखरेलले अभियान अन्तर्गत प्राथमिकताका साथ सम्पादन गरिनुपर्ने कामका बारेमा मार्गनिर्देश गर्नुभएको छ । 
सो अनुसार टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने, सदस्यता नवीकरण र विस्तार गर्ने, आधारभूत तहका कमिटीमा एकतिहाई युवालाई समावेश गर्ने, जनसङ्गठनको सदस्यता व्यापक विस्तार र सबै जनसङ्गठनलाई आ–आफ्नो वर्ग÷ समुदायको नेताका रूपमा स्थापित गर्ने, पार्टीको बार्षिक कार्ययोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने, जनप्रतिनिधिका नमुना योग्य कामलाई उजागर गर्ने, नियोजित रूपमा सम्प्रेषित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने, घर फर्क र पार्टी प्रवेश अभियानमा जोड दिने लगायत रहेका छन् । 
अभियान अन्तर्गत सम्पादन गरिनुपर्ने कामका बारेमा महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत निम्नानुसार मार्गनिर्देश गर्नुभएको छ–
–सदस्यता नवीकरण र विस्तार (कुल मतदाताको छ प्रतिशत पुर्याउने)
–टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तीमा एकतिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने । पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने ।
–पार्टी सम्वद्ध सबै जनसङ्गठनको सदस्यता व्यापक रूपमा विस्तार गर्ने र  सबै जनसङ्गठनलाई आ–आफ्नो वर्ग÷ समुदायको नेताका रूपमा स्थापित गर्ने ।
–सोसल मिडियामा नियोजित रूपमा सम्प्रेषित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने । सबै तहका कमिटीहरू र जनप्रतिनिधिहरूले आ–आफ्नो तहको प्रचार डेस्क स्थापना गरी प्रचारात्मक काम अघि बढाउने ।
–निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि बढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
–पार्टीको नेतृत्व र सहभागिताका तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने ।
–जनतासँग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने । स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने । आ–आफ्नो ठाउँको विकास र समृद्धिको योजना तयार गर्ने ।
–मिसन ०८४ मा पार्टीको एकल बहुमत प्राप्त हुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुवीकरणको अभियान चलाउने । घर फर्क र पार्टी प्रवेश अभियानमा जोड दिने ।
–पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि बढाउने । पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।
–समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न नेकपा (एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देश प्रवाह गर्ने ।
–अभियानको समाप्तिसँगै अभियानको उपलब्धि र कमी कमजोरीको समीक्षा गर्ने र त्यसको अनुभवको जगमा नियमित वैचारिक, सङ्गठनात्मक र राजनीतिक कामलाई अघि बढाउने ।