detail-img

सामाजिक सञ्जालमा भइरहेको वितण्डालाई नियमन गर्न ऐनः उपमहासचिव ज्ञवाली 

-अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ

-सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्छ

-असत्यको भिडमा सत्य किचिनबाट नजोगाउने हो भने सत्य मर्छ 

-सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको बलियो सम्बन्ध देखेर छटपटाइरहेका छन्

१७ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । 
बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएको स्पष्ट गर्नुभयो । देश र व्यवस्थालाई सङ्कट पर्दा यी दुई दल मिल्ने गरेका र अहिले पनि धेरैको अनुमान विपरीत एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ उहाँले बताउनुभयो । 
सहकारीको रकम अपचलनमा कारबाही अघि बढाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनि प्रचार गर्नु अनुचित भएको बताउँदै उपमहासचिव ज्ञवालीले सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा (एमाले) लगायत अन्य दलमा आबद्ध मानिसहरू माथि पनि मुद्दा चलिरहेको स्मरण गराउनुभयो । 
वर्तमान सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएको उहाँको भनाइ थियो । 
छ÷छ महिनामा सरकार फेर्ने प्रयास अहिले असफल भएको र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको केन्द्रमा रहनुभएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । 
देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उहाँले बताउनुभयो । माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उहाँको भनाइ छ । 
नेकपा (एमाले) सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनुपर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो । नेकपा (एमाले) समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । निरङ्कुशताको जेल, नेल भोगेर आएका एमाले नेताहरूले लोकतन्त्रको मर्म राम्रोसँग बुझेको बताउँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो– स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ, पिँजडाको सुगालाई मात्र स्वतन्त्रताको मूल्य थाहा हुन्छ । 
उहाँले पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्वपूर्ण हुने हुँदा  यसमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘लोकतन्त्रलाई मर्यादित बनायो भने मात्र लोकतन्त्र बच्छ, अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो । 
अहिले अरू सबै खराब म मात्रै ठिक भन्ने भाष्य निर्माण गरेर सामाजिक सञ्जाल मार्फत अनेक खालका वितण्डा मच्चाउने काम भएका भन्दै उहाँले त्यसलाई नियमनको लागि सरकारले ऐन ल्याउन लागेको बताउनुभयो । सो विधेयक संसदमा छलफल हुने भएकाले त्यसलाई परिमार्जनसहित व्यवस्थित बनाइने धारणा राख्दै उहाँले यस विषयमा सञ्चार क्षेत्रसँग पनि छलफल गरेर सुझाव लिन सुझाव दिनुभयो । 
तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने  तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने जस्ता कार्यलाई स्वीकार्न नसकिने उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसको लागि कहाँ योगदान दिनु पर्ने हो त्यो योगदान गर्न एमाले तयार रहेको उहाँले बताउनुभयो । 
असत्यको भिडमा सत्य किचिनबाट नजोगाउने हो भने सत्य मर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो । सत्यलाई जोगाउन प्रेस चौतारी नेपालले नेतृत्वदायी भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।