detail-img

‘कम्युनिष्ट योद्धा’ बोहराको निधनप्रति दुःख व्यक्त 

१७ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)ले पार्टीका पुराना नेता तथा ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मानित व्यक्तित्व छत्रबहादुर बोहराको निधनप्रति दुःख व्यक्त गरेको छ । 
सिन्धुपाल्चोक जिल्लाको साविक पिस्कर गाविसका पूर्व अध्यक्ष बोहराको ८३ वर्षको उमेरमा बुधबार साँझ काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । 
पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज एक शोक वक्तव्य प्रकाशित गर्नुभई बोहराको निधनको खबरले पार्टी स्तब्ध भएको जनाउनुभएको छ । 
मुलुकमा राजनीतिक तथा सामाजिक परिवर्तनका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध पार्टीले शुरु गरेको कठोर सङ्घर्षमा कमरेड बोहराले गर्नुभएको योगदान अत्यन्त महत्वपूर्ण र अविष्मरणीय रहेको उल्लेख गर्दै  शोक बक्तव्यमा भनिएको छ– पिस्कर आन्दोलनका अग्रज नेता, नेकपा (एमाले) बाग्मतीका पूर्व सल्लाहकार स्व.बोहरा निरङ्कुशता विरुद्धको सङ्घर्षमा पटकपटक जेलनेलको सामना गर्नुभएको र उहाँको निधनले नेकपा (एमाले), नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनले एउटा निष्ठावान् योद्धा गुमाउनु परेको छ । 
उहाँले नेकपा (एमाले)मा रहेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन निःस्वार्थ भावका साथ गर्नुभएको योगदान सधै स्मरणीय रहने उल्लेख गर्दै कार्यवाहक महासचिव ज्ञवालीले वक्तव्यमा भन्नुभएको छ– नेकपा (एमाले) स्व. बोहराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा उहाँका जीवन संगिनी क.ईश्वरी सुब्बा बोहरा तथा छोराछोरीहरू लगायत सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछ ।