detail-img

‘नेताकार्यकर्ता तल नजाने प्रवृत्तिले जनतासँगको सम्बन्ध पातलियो’

१७ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका नेताकार्यकर्ता तल नजाने प्रवृत्तिले जनतासँगको सम्बन्ध पातलिएको बताउनुभएको छ ।   
बिहीबार प्रेस चौतारी नेपाल सुनसरीको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ढकालले त्यसैलाई चिर्न एमालेले तीन महिने गाउँ केन्द्रित अभियान सञ्चालन गर्न लागेको प्रष्ट पार्नुभयो । 
एमालेले राखेको मिसन–२०८४ को लक्ष पुरा गर्न पनि यो जरा केन्द्रित अभियानले महत्व राख्ने उहाँले बताउँदै नेता ढकालले भन्नुभयो– एमालेका नेता र जनसङ्गठनहरू मूलतः जमिनतिर फर्कने भन्दा पनि माथि आकाशतिर फर्कने प्रवृत्तिबाट हुर्कन थाले, नेतृत्वको संरक्षण भयो भने, माथि रिझाइयो भने तल रिझाइ रहनु पर्दैन कि भन्ने बुझाइले पनि जनतासँगको हाम्रो सम्बन्ध पातलियो । 
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बलियो सरकार सञ्चालनमा रहेको उल्लेख गर्दै कांग्रेस, एमाले लगायतका दल मिलेर बनेको यो सरकारको आकर्षण बढ्यो भने फेरि एमाले सरकारमा आउला र देशमा अस्थिरता कायम गराउन नसकिएला भनेर केही तत्व दलहरूमाथि अविश्वास फैलाउने प्रयत्नमा लागेको उहाँले स्पष्ट पार्नुभयो । 
नेपालमा मूल नेतृत्वलाई कमजोर बनाइयो भने मात्र देशमा अस्थिरता मच्चाउन सकिन्छ भनेर प्रधानमन्त्री ओलीलाई कमजोर बनाउन धेरै शक्ति लागेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीको दूरदृष्टि, राष्ट्र र राष्ट्रियताप्रतिको भावका अगाडि कसैको केही नलाग्ने विश्वास नेता ढकालको व्यक्त गर्नुभयो । 
अहिले पनि प्रधानमन्त्री ओलीलाई बदनाम गराउन देशभित्र र बाहिर बसेर केही व्यक्तिहरू लागिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– यो नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री ओली माथिको मात्र आक्रमण होइन, यो एमाले सिध्याउने साझा अभियान हो भन्ने हामीले बुझ्न पर्दछ । 
कहिले काहीँ समाजमा अति भ्रष्ट व्यक्तिहरूले अगुवाइ गर्दा पनि वाह वाह गर्ने परिस्थित बन्ने बताउँदै नेता ढकालले त्यसमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । धरानमा खानेपानीको नाममा ठुलो रकम अनियमितता गर्नुभएका त्यहाँका मेयर हर्क राई अहिले पानी खुवाउन नसकेपछि चर्चामा आउन रित्तो गाग्री बोकेर काठमाडौं पुगेको उहाँले सुनाउनुभयो । 
धरानमा पानी ल्याउने सन्दर्भमा विदेशका संस्था र व्यक्तिले कति रुपियाँ दिए भन्ने कुरा खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । धरानमा श्रमदान गर्न जानेलाई वनभात खुवाएर एक हजार रुपियाँ दिँदै पठाउने पैसा कहाँबाट आयो ? र कति खर्च भयो ? भन्ने कुरा राईले देखाउनुपर्ने स्थायी कमिटी सदस्य ढकालले बताउनुभयो ।